
रुपन्देही, १७ भाद्र । सामूहिक बलात्कार ‘ग्याङ रेप’ मा संलग्न भएको अभियोगमा रुपन्देहीबाट शनिवार दिउँसो तीन जना पक्राउ परेका छन् ।
भाद्र ५ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।
१९ वर्षीया युवतीलाई भदौ ५ गते सामूहिक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले पक्राउ परेका तीनैजनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।
केटिएम दैनिकसँगको कुराकानीमा उनले भने, ‘शनिवार दिउँसो इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको टोलीले पक्राउ गरेर यहाँ ल्याएको हो । आज हामीले म्याद थप गरेका छौँ ।‘
प्रहरीले यस विषयलाई गम्भीरताका साथ लिएको पनि भट्टले बताए ।
कानुनमा के छ ।
नेपालको कानुनले कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा त्यसलाई जबरजस्ती करणी मान्दै पीडितको उमेर र परिस्थिति हेरेर कैद सजाय, जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३(ङ) का अनुसार अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा त्यसमा संलग्नलाई सात देखि दश वर्षसम्म कैद तीन लाख रुपैयाँ जरिवाना र उचित क्षतिपूर्तिको व्यवस्था छ तर सामूहिक जबरजस्ती करणीमा थप पाँच वर्ष कैद हुने सोही ऐनमा उल्लेख छ ।
यस घटनामा संलग्नहरू अदालतबाट दोषी ठहर भएको खण्डमा उनीहरू कम्तीमा १२ देखि १५ वर्षसम्म कैद सजाय भोग्नुपर्ने हुन्छ ।