काठमाडौँ, १ भाद्र । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही भदौ २ गतेदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् ।
उनका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रीको रूपमा राणाको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने जनाइएको छ ।
दुई देशबिचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहु आयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्री राणा भाद्र ६ गते नेपाल फर्कने कार्यक्रम छ ।