काठमाडौँ, ३ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र क्यानडाका विदेशमन्त्री मेलानी जोलीबीच बुधवार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ ।
सो वार्ताका क्रममा नेपाल-क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
क्यानेडियन विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानडा पुगेकी हुन् ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह गरेकी थिइन् ।
उनले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै क्यानडाले नेपालमा दूतावास स्थापना गर्न अनुरोध गरेकी थिइन् ।
क्यानडाका विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताउँदै नेपालमा दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ।