खोटाङ, ३१ श्रावण । खोटाङमा पहिरोले पुरिँदा एक शिक्षिकाको मृत्यु भएको छ ।
रावाबेसीँ गाउँपालिका-३ लामिडाँडाकी ५७ वर्षीया सावित्रादेवि नेवारको पहिरोले पुरेर मृत्यु भएको हो ।
बिहीबार बिहान १० बजे विद्यालयतर्फ जाँदै गरेकी नेवारलाई करिब ५० मिटरमाथिको सडकबाट झरेको पहिरोले पुर्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
लामिडाँडास्थित विश्वज्योति माविमा कार्यरत शिक्षिका वडा कार्यालय नजीकै पहिरोमा पुरिएकी हुन् । स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाउँदा उनी मृत भेटिएको डिएसपी खड्काले बताए।
पहिरो जाने जस्तो देखेपछि स्थानीय बासिन्दाले त्यो बाटो नहिंड्न सुझाएका थिए । तर स्कूल पुग्ने हतारमा रहेकी उनी फर्केर अर्को बाटो जान नमान्दा पहिरोमा पुरिएको बताइएको छ ।
मृतक नेवारको शवलाई पोस्टमार्टम गर्न जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।