काठमाडौं, २९ श्रावण । रक्षा मन्त्री मानवीर राईले सोमबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।
३१ असारमा रक्षा मन्त्रीमा नियुक्त भएपश्चात् उनले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन् ।
जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्रीराई समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले रक्षामन्त्रीलाई नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरेका हुन् ।
सम्बोधनको क्रममा रक्षा मन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पण तथा यस क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको उल्लेख गरे ।
समग्र राष्ट्रको, सेनाप्रतिको भरोसालाई कायमै राख्दै आफूलाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीहरू एवम् अन्य सबै प्रकारका चुनौतीपूर्ण कार्यहरू निर्वाह गर्न भविष्यमा पनि नेपाली सेना सफल हुनेमा विश्वस्त रहेको मन्त्री राईले बताए ।
उक्त कार्यक्रममा रक्षा सचिव श्री रामेश्वर दङ्गालले नेपाली सेनाको समयसापेक्ष क्षमता विकाश एवम् आधुनिकीकरण, दीर्घकालीन सोच-२०८७ को सफल कार्यान्वयन, विकास निर्माणका कार्यहरूमा सहजीकरणका लागि नेपाली सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेट लगायतका विषयहरूमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराए ।
धन्यवाद मन्तव्य व्यक्त गर्दै कायममुकायम प्रधान सेनापति रथी श्री अशोकराज सिग्देलले गौरवशाली संस्थाको परम्परा अनुरूप सङ्गठनलाई अगाडि बढाउन अग्रजहरूको अथक प्रयासबाट स्थापित नेपाली सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्ने तर्फ आफ्नो निरन्तर पहल रहने बताए ।
कार्यक्रमको आरम्भमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य दिएका थिए । त्यस अवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।