तेह्रथुम, ९ भाद्र । बाख्रा चराउन गएका एक बालकलाई तमोर खोलाले बगाएको छ ।
शनिबार दिउँसो तेह्रथुम आठराई गाउँपालिका-५ नक्कले घाट नजिक बाख्रा चराउन गएका दुई बालकमध्ये एकजनालाई तमोर खोलाले बगाएको हो ।
स्थानीय १७ वर्षीय जिवन ओली र ११ वर्षको आयुष पोखरेल खोला किनारमा बाख्रा चराउन गएका थिए । गर्मी भएको भन्दै खोलामा पौडी खेल्ने क्रममा ओलीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोद खड्काले बताए ।
ओलीलाई खोलाले बगाएपछि सँगै गएका पोखरेलले घरमा खबर गरेका थिए । बेपत्ता भएका बालकको खोजीमा इलाका प्रहरी कार्यालय छातेढुंगा, आठराई र शसस्त्र प्रहरी समेतको टोलीले खोजतलास जारी राखेतापनि यो समाचार तयार पर्दासम्म उनको अवस्था अज्ञात नै छ ।