काठमाडौं, ५ भाद्र । एक महिलाको घाँटीबाट सिक्री लुटेर फरार भएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत श्रावण २१ गते भक्तपुरको लोकन्थली बसस्टपमा अपरिचित व्यक्तिहरूले रामेछाप सुनपाती-१ घर भई हाल भक्तपुर मध्यपुर थिमी-१ बस्ने ५० वर्षकी कमला गौतमले घाँटीमा लगाएको सुनको १ तोलाको सिक्री लुटपाट गरेर फरार भएका थिए ।
यस घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल-९ घर भएका ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, नमोबुद्ध-५ घर भई हाल ललितपुरमा बस्ने गणेश लामा र बेथानचोक-६ घर भई हाल गौशालामा बस्ने रोहित भन्ने सुरेश तामाङ रहेका छन् ।
उनीहरूलाई आइतबार भक्तपुरको कौशलटारबाट पक्राउ गरेर आज सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।
पक्राउ परेका अनिल कुमार तामाङउपर अघिल्लो वर्षमा जेठमा प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेको थियो भने गणेश लामाउपर प्रहरी वृत्त नयाँ बानेश्वरबाट चारपटकसम्म अभ्रद व्यवहारमा मुद्दा चलेको छ भने सुरेश तामाङउपर पनि प्रहरी वृत्त बौद्ध र गौशालाबाट चारपटकसम्म मुद्दा चलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।
पक्राउ परेका चारैजनालाई थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ ।