काठमाडौं, ३ भाद्र ।भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राणाले दिल्लीस्थित हैदरावाद हाउसमा आज साँझ मोदीसँग भेटवार्ता गरेकी हुन् ।
भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको बताइएको छ ।
मन्त्री राणाले भनेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’
भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।
यस अघि राणाले आजै आफ्ना समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।
आइतबार नयाँ दिल्ली पुगेकी राणा आफ्नो पाँच दिने भारत भ्रमण सकेर विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।