काठमाडौं, ३ भाद्र । भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत लैजाने भएको छ ।
नेपालका विभिन्न १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट विद्युत निर्यात गर्ने बाटो खुलेको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमै समयमा यस विषयमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।
नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ ।
यसअगाडि १६ वटा परियोजनाबाट स्वीकृत भएको ६९० मेगावाटबाट बढेर अब २८ वटा परियोजनाबाट ९४१ मेगावाट विद्युत भारतमा निकासी हुने स्रोतले जानकारी दियो ।
गत आर्थिक वर्षमा मात्रै नेपालले भारतलाई विद्युत बेचेर १६ अर्ब ९३ करोड रुपैयाँ संकलन गरेको थियो । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ ।
इन्डियन इनर्जी एक्सचेन्जको ‘डे अहेड मार्केट’ मा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।
भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।
नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा रहेको छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागेतापनि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण यो सम्झौता केही समय पर सरेको नेपाल विद्युत प्राधिकरणकाका उच्च तहका अधिकृतले बताए ।