गत भदौ १३ गते सोमबार बिहान ८ बजेतिर । विराटनगर महानगरपालिका–१२ बस्दै आएकी एक महिला तिज मनाउने योजनासहित खाना बनाउँदै हुन्छिन् । भोलिपल्ट तीज भएका कारण माइत जाने र सँगीसँग नाच्ने योजना बुन्दै खाना पकाइरहेकी हुन्छिन्, उनी ।
सुरक्षा गार्डका पेशा गर्ने उनका श्रीमान् ड्युटीमै हुन्छन् । दुई छोराछोरी अर्को कोठामा खेलिरहेका हुन्छन् । १२ वर्षीय छोरा आकाश (नाम परिवर्तित) मोबाइलमा पब्जी खेल्दै हुन्छन् भने सात वर्षीया छोरी उनीसँगै झुम्मिरहेकी हुन्छिन् ।
एक्कासि विराटनगर-१२ राजेन्द्र ढकालको ‘इन्ट्री’ हुन्छ । ढकाल विगत केही वर्षयता त्यो परिवारलाई सहयोग गरिरहेका व्यक्ति हुन् । ढकालले भाइ कहाँ छन् भनेर ती महिलाका श्रीमानलाई खोज्छन् ।
‘ड्युटीमै हुनुहुन्छ’ भन्दै ती महिला आफ्नो कामलाई नै निरन्तरता दिन्छिन् । आफ्नी श्रीमती तीज मनाउन माइती गएको बताउँदै ढकालले आकाशलाई लिन आएको सुनाउँछन् ।
‘खाना पकाउन आउँछ नि?’ भनेर ढकालले आकाशलाई सोध्छन् । जवाफमा आकाशले खाना पकाउन नआउने बताउँन् । नआए पनि सघाइदिनू भनेर ती महिलाले आफ्नो छोरालाई निर्देशन दिएपछि ढकालले आकाशलाई लिएर आफ्नो घरतिर लाग्छन् ।
कार्यालयले नै उपलब्ध गराएको कोठामा बस्ने गरेकी ती महिला छोरी र श्रीमानलाई खान खुवाएर जुठोभाँडा माझ्न थाल्छिन् । छोरा गएको लामो समय बित्दा पनि नआइपुगेपछि उनी ढकाललाई फोन गर्न थाल्छिन् ।
त्यतिकैमा आकाश घर आइपुग्छन् । कालो र निराश अनुहार लिएर कोठा आइपुगेका आकाशलाई आमाले प्रश्न गर्छिन्, ‘किन अँध्यारो अनुहार लगाएको?’
आकाश बोल्दैनन् । बरु, मोबाइल निकालेर पुनः पब्जी खेल्न थाल्छन् । ‘खाना खाइस् त?’ आमाको यो प्रश्नमा झसंग हुन्छन्, आकाश ।
टाउको हल्लाउँदै आकाशले खाना नखाएको जनाउ दिन्छन् । थकित मुद्रामा रहेका आकाश शौचालयतिर जान्छन् र एकछिनपछि बाहिर निस्कन्छन् । आकाशको अनुहारमा निकै पीडा देखिन्थ्यो । सन्चो नभएको ठानेर ती महिला आकाशलाई खाना खान आग्रह गर्दै पिसाब फेर्न ट्वाइलेट पस्छिन् ।
ट्वाइटेलमा नमिठो खालको गन्धले उनको नाक पोल्छ । नजिकै आकाशले खोलेको भित्री वस्त्र देखेपछि ती महिलाको मनमा शंकाका अनेक घण्टी बज्न थाल्छ । ‘पेन्टीभरि वीर्य देखेपछि मलाई शंकाले घेर्यो,’ आकाशकी आमाले भनिन्, ‘गन्ध यस्तो थियो कि उनीमाथि भएको सेक्सुअल ह्यारेसमेन्ट पत्तो लाग्थ्यो ।’
आशंकाको जालोमा परेकी उनले ट्वाइलेटबाहिर निस्किएर छोरालाई सोधिन् । आफूमाथि भएको दुव्र्यवहार सुनाउन अनुनय–विनय गरिन् । तर आकाशले टारिरहे ।
‘राजेन्द्र ठूलोबुवाले डर देखाउनुभएको छ? भनेर प्रश्न गरेपछि मात्र उसले आफूमाथि भएको यौन दुव्र्यवहार सुनायो,’ उनले भनिन्, ‘त्यसपछि कैयौं पटक आफूमाथि भएको अप्राकृतिक यौन दुव्र्यवहारबारे कुरा खोल्यो ।’
त्यसअघि पनि ती महिलालाई नातामा भाइ पर्ने एक युवाले ढकालले आफूमाथि गरेको यौन दुव्र्यवहार सुनाएका थिए ।
‘ढकाल अंकल त गे हुन्, मलाई पनि पारि भित्तामा लगेर…’ भन्दै भाइले सुनाएको बताउँदै उनी भन्छिन्, ‘म लेखपढमा कमजोर छु, गे भन्ने शब्द बुझिनँ । फेरि उहाँले हाम्रो परिवारलाई राम्रो सहयोग गर्नु भएको थियो । यसैले, पनि भाइको कुरा पत्याएकी थिइनँ ।’
आकाशले आफूमाथि ६ महिनायता पटक-पटक अप्राकृतिक मैथुन भएको विषय खुलासा गरेपछि ती महिला अन्योलमा पर्छिन् । श्रीमान् ड्युटीबाट नफर्कुन्जेल टाउकोमा हात राखेर बस्छिन् । श्रीमान् आएपछि छरछिमेकमा सल्लाह गर्छन् ।
घटना भएको पर्सिपल्ट जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी गरेपछि राजेन्द्र ढकाल पक्राउ पर्छन्। अप्राकृतिक मैथुन र बाल यौन दुरुपयोग गरेको आरोपमा पक्राउ पर्ने अरू कोही नभएर गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत हुन्।
५० वर्षीय ढकाल अहिले पूर्पक्षका लागि कारागारमा छन्।
०००००
हाम्रो देशमा ठुला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्याउन आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।
समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणकारूपमा देखिएका छन् ।
गत मंसिर ९ गतेबाट लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैंगिक हिंसा न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्दै प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।
महिलालाई महिला भएकै कारणले तथा पुरुषलाई पुरुष भएकै कारणले अथवा लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने कुनै पनि प्रकारको विभेद, दुव्र्यवहार वा हिंसालाई लैंगिक हिंसा भनिन्छ ।
लिंगका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकालदेखि नै समस्याको रूपमा देखिँदै आएको छ । सामान्य जनजीवनमा लिंगका आधारमा हुने हिंसा भन्नासाथ महिला हिंसा भन्ने बुझ्ने प्रचलन छ । हुन पनि हाम्रोलगायत विश्वका धेरै समाजहरूमा पुरुषभन्दा महिलाहरू विभिन्न प्रकारका हिंसाबाट बढी पीडित हुन्छन् ।
यसैकारण लैंगिगताको आधारमा हुने हिंसामा भन्नेबित्तिकै महिलामाथि हुने हिंसा भन्नेमा केन्द्रित हुनु स्वाभाविक हो ।
महिला वा परुष वा तेस्रो लिंगी भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्की दिनु, पारिश्रमक नदिनु वा कम दिनु, अश्लील शब्द बोल्नु, अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हुन् ।
नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका छन् । तर वर्षौंदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइरहेपनि हिसांका घटना भने सोचेजस्तो न्युनिकरण हुन सकेको छैन । १६ दिने अभियानमात्र होइन विभिन्न अभियन्ताले चलाएका अभियानका बाबजुत पनि हिंसाका घटना कम भएका छैनन्, बरु यसको ग्राफ उकालो लाग्दो अवस्थामा देखिएको सरकारी तथ्यांकहरूले देखाएका छन् ।
लैंगिक हिंसाका प्रकारमा विविधता देखिएसँगै पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेको सम्बन्धित निकायको भनाइ छ । अनलाइन प्लाटफर्मसहित निजी तथा सार्वजनिक स्थानमा लैंगिक हिंसा हुने गरेको छ । महिला, किशोरी र यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरू आजीवन लैंगिक हिंसामा पर्ने गरेको पाइन्छ । हाम्रो देशमा शारीरिक वा यौनजन्य हिंसाबाट पीडित तथा प्रभावित महिलाहरूमध्ये एकतिहाइभन्दा कमले मात्र उजुरी गर्ने वा त्यसका लागि सहयोग लिने गरेकाले लैंगिक हिंसाको वास्तविक अवस्था सार्वजनिक हुन सकेको छैन ।
हिसां प्रभावित बर्सेनि बढ्दै
अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को बि.स २०७९ साउन १ देखि मंसिर ९ गतेसम्मको ४८ वटा ओसिएमसीबाट प्राप्त तथ्यांक अनुसार विभिन्न नामको हिंसामा परेका २१ सय नागरिकले सेवा लिएका छन् ।
स्वास्थ्य मन्त्रालय लैंगिक समानता तथा सामाजिक समावेशिता शाखाकी नर्सिङ अधिकृत सुना लक्ष्मी कर्मचार्यका अनुसार देशभर ९४ स्वास्थ्य संस्थाबाट उक्त संख्यामा पीडितले सेवा लिएका छन् । वितेको आठ महिनामा खुलेरै २१ सय पीडित सेवाका लागि आउँनु भनेको सामान्य विषय नभएको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को बि.स २०७९ साउन १ देखि मंसिर ९ गतेसम्मको ४८ वटा ओसिएमसीबाट प्राप्त तथ्यांक अनुसार विभिन्न नामको हिंसामा परेका २१ सय नागरिकले सेवा लिएका छन् । देशभर ९४ स्वास्थ्य संस्थाबाट उक्त संख्यामा पीडितले सेवा लिएका छन् ।
पछिल्लो आठ महिनाको तथ्यांकमा २१ सय पीडितले सेवा लिएका छन् । यो निकै ठूलो संख्या हो । पीडित हुनेमा १० वर्षभन्दा कम उमेरदेखि ६० वर्षभन्दा माथि उमेर समूहसम्म रहेको मन्त्रालयको तथ्यांकमा उललेख गरिएको छ । सेवा लिनेमा अपांगता भएका ४० जना छन् ।
त्यस्तै मेडिकल लिगल सेवा ८ सय ४९ र मनोसामाजिक परामर्श सेवा २ हजार २६ जनाले लिएका छन् । हिंसामा परेका ३ सय ४५ जनालाई सेवा सुविधाबाट बन्चित गरिएको छ । परम्परागत हिँसा २० जना, बाल विवाह १ सय ५७ जना, यौन दुर्रव्यवहार २ सय ९१ जना, बलात्कारजन्य आरोपमा ५ सय ८० जना, शारीरिक हिंसामा ८ सय २ जना रहेका छन् ।
हिंसा भोगेर सेवा लिन आउँनेहरूमा ब्राम्हण समूहका ४ सय ८८ जना दलित ४ सय ५६ जना, जनजाती ५ सय ६१ जना, मधेशी २ सय ७३ जना, मुस्लिम ९१ जना र अन्य ६१ जना हिंसामा परेर देशका बिभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको तथ्यांक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
के छ मोरङ जिल्लाको अवस्था ?
यता मोरङ्ग जिल्लाको कोशी अस्पताल बिराटनगरमा रहेको लैंगिक हिंसासम्बन्धी एकद्धार संकट ब्यवस्थापन केन्द्र (आसिएमसी)को तथ्यांकलाई हेर्दा हिंसामा परेर सेवालिने प्रभावितहरूको सङ्ख्या बर्षेनी बढ्दो क्रममा देखिएको छ ।
२०७४ सालबाट सुरु भएको उक्त ओसीएमसीबाट सेवा पाएका प्रभावितहरूको सङ्ख्या सो बर्ष अर्थात २०७४÷७५ मा जम्मा ९२ जना प्रभावितले सेवा लिएका थिए भने ७५/७६ मा ३ सय २६ जनाले सेवा लिएका छन् । त्यस्तैगरि ७६/७७ मा ३ सय ५३ जना प्रभावितले उक्त सेवा लिएका छन् । आर्थिक बर्ष २०७७ ÷७८ मा सेवा लिने प्रभाबितहरूको सङख्या बढेर ५ सय १३ पुगेको छ भने यसबर्ष मात्र ६ सय ६८ जना हिंसा पिडीतले ओसीएमसीबाट सेवा लिएका छन् ।
यसरी सेवा लिनेहरूमा ८० प्रतिशत भन्दा बढि महिला रहेको तथ्याङ्कले देखाएको छ । यसरी सेवा लिने हिसां प्रभाबित मध्ये सबैभन्दा बढि यौनजन्य हिसां र घरेलु हिसांका पीडित महिला तथा बालबालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय मोरङको महिला सेल बिभागमा पनि हिसांपीडित महिलाहरूको सङ्ख्या पहिलेको तुलनामा बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यलय मोरङकी प्रहरी बरिष्ठ नायब निरीक्षक मुना डाँगी बताउँछिन् ।
महिला सेलमा आएका उजुरीहरूमध्ये धेरैजसो यौनजन्य हिसांका र घरेलु हिसांका केशहरू रहेको उनले जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यलयको तथ्याङकलाई हेर्दा आर्थिक बर्ष २०७६/७७ मा घरेलु हिंसा सम्बन्धि ३ सय ७५ उजुरी दर्ता भएका छन् भने ७७/७८ मा ४ सय ३६ उजुरी परेका थिए । गत बर्ष अर्थात ७८/७९ मा ४ सय ४४ उजुरी दर्ता भएका छन् ।
‘पहिलेको तुलनामा लैगिक हिसांका घटनाहरू बढ्दो क्रममा देखिएको छ,’ प्रहरी बरिष्ठ नायव निरीक्षक डाँगीले भन्छिन्, ‘हिसांको रिपोर्टिङ गर्ने प्रवृति बढेकाले पनि हुनसक्छ पहिलेको तुलनामा लैगिक हिसांका केसहरू निकै नै बढ्दै गइरहेका छन्, जसमा धेरै महिला हिंसाका केसहरू रहेका छन् ।’
अझैपनि नेपाली समाजमा श्रीमान-श्रीमतीका झगडा, कुटपिटलाई सामान्य रूपमा हेर्ने चलन रहीआएकाले धेरै महिला दिदीबहिनीहरू हिंसा सहेर बस्ने गरेको पाइएको उनी बताउँछिन् ।
लैंगिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित-प्रभावित हुने गरेका छन् । यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ । यस्ता समस्याहरूको एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्न अस्पतालहरूमा स्थापना गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) विस्तारै प्रभावकारी बनिरहेको छ ।
लैंगिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना, २०१० तथा लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ को मर्म अनुसार ओसीएमसी स्थापना गरिएको हो ।
स्वास्थ्य तथा जनसडख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी केन्द्रीय तथा जिल्ला अस्पतालहरूले यस्ता सेवा दिइरहेका छन् । ओसीएमसीले हिंसाबाट प्रभावितलाई उपचार, मनोपरामर्श सेवा उपलब्ध गराउनुको साथै आवश्यक कानुनी परामर्श, सुरक्षा तथा आवास सेवाका लागि सहजीकरण गर्छ ।
लैंगिक हिंसालाई प्रभावकारी एवम् कुशलतापूर्वक सम्बोधन गर्नका लागि उक्त केन्द्र सञ्चालनमा ल्याइएको समाजिक विकास मन्त्रालय प्रदेश १ सामाजिक बिकास महाशाखा प्रमुख दुर्गा बराल भण्डारीले बताउँछिन् ।
कोसी अस्पतालकी ओसीएमसीकी सहजकर्ता कृति गुप्ता अस्पतामा आएका हिंसा पीडित महिलालाई उपचारको साथै मनोसामाजिक परामर्श दिने, सम्बन्धित अस्पतामा उपचार सम्भव नभए अन्य अस्पतालमा पठाउने तथा कानुनी उपचारमै जानुपर्ने घटना रहेछ भने प्रहरी प्रशासनसँग परामर्श गर्नेसम्मको सेवा ओसीएमसीले दिइरहेको बताउँछिन् ।