नेपाली वृहत् शब्दकोश पल्टाएर हेर्ने हो भने ‘पारपाचुके’ को अर्थ हुन्छ, ‘पतिपत्नीका बिचमा गरिने सम्बन्ध विच्छेद, स्वेच्छाले गरिने वैवाहिक सम्बन्धको अन्त ।’ स्वेछाले वैवाहिक सम्बन्धको अन्त गरेका पूर्वश्रीमानबाटै महिलाहरू बलात्कृत हुन्छन् भन्दा अलिक अपत्यारिलो लाग्न सक्छ तर प्रहरीमा भने सम्वन्धविच्छेद गरेका श्रीमानबाट बलात्कृत भएको भन्दै उजुरी पर्ने गरेका छन् ।
नेपालको कानुनले महिलाको मन्जुरीबिना गरिने यौन सम्पर्कलाई बलात्कार मान्दै यसलाई राज्यविरुद्धको अपराध मानेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-१८ मा ‘करणी सम्बन्धी कसूर’ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यसलाई जवर्जस्ती करणी मानेको छ । बालिका/महिलाको उमेर र प्रकृति हेरेर कसुर गर्नेलाई सजाय तोकिएको छ, जुन सात वर्ष देखि जन्मकैदसम्म हुन्छ ।
त्यति मात्रै हैन कानुनले वैवाहिक बलात्कारको कल्पना गर्दै लोग्नेले स्वास्नीको मन्जुरीबिना गर्ने जबरजस्ती यौन सम्पर्कलाई वैवाहिक बलात्कार ठहर गर्दै लोग्नेलाई पाँच वर्षसम्मको कैद सजाय तोकेको छ । तर श्रीमानबाट ‘डिभोर्स’ गरेका श्रीमतीहरू समेत बलात्कारमा पर्ने गरेको तथ्याङ्कले देखाउँछ ।
नेपालको कानुनअनुसार सम्वन्धविच्छेद अदालतबाट मात्र हुन्छ । पति वा पत्नीले सम्वन्धविच्छेद गरेर आफूखुसी जीवन बिताउन चाहेमा ‘मुलुकी देवानी संहिता २०७४’ को सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थाको महलमा उल्लेख भएअनुसार सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्नेछ । अदालतले सकेसम्म उनीहरूको मेलमिलाप गराउनुपर्ने नभए निवेदन परेको एक वर्षभित्रमा सम्बन्ध विच्छेद गरिदिनुपर्ने उल्लेख छ ।
विगत पाँच आर्थिक वर्षको तथ्याङ्क नियाल्ने हो भने ४२ जना महिलाहरूले सम्बन्ध विच्छेद गरेका पूर्वपतितबाट बलात्कृत भएको भन्दै उजुरी दिएका छन् । हामीले आर्थिक वर्ष ०७४/७५ देखि अघिल्लो आ.व (०७८/७९) को तथ्याङ्क हेर्दा समीक्षा अवधिको पहिलोमा वर्षमा एउटा मात्र उजुरी परेको देखिन्छ, अघिल्लो आ.व.मा देशभरनै यस्ता उजुरीको सङ्ख्या शून्य छ ।
आ.व. ०७५/७६ मा देशभर १० वटा उजुरी दर्ता हुँदा ०७६/७७ मा अहिलेसम्मकै सर्वाधिक उजुरी दर्ता भए । उक्त आर्थिक वर्षमा नेपालभर २८ वटा उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । त्यसपछिका वर्षहरूमा भने उजुरीको सङ्ख्या घट्दै गएको देखिन्छ । ०७७/७८ मा जम्मा तीन वटा उजुरी परेका थिए ।
कर्णाली प्रदेशमा बढी उजुरी
प्रहरीमा परेका उजुरीलाई प्रदेशगत रूपमा हेर्ने हो भने कर्णाली प्रदेशमा बढी घटना घटेका देखिन्छन् । पाँच आर्थिक वर्षमध्येमा एक वर्षबाहेक अन्य वर्ष त्यहाँ परेका उजुरीका सङ्ख्या शून्य छ ।
आ.व ०७६/७७ मा त्यहाँ डिभोर्स गरेको श्रीमानबाट बलात्कृत भएको भन्दै १९ महिलाहरूले उजुरी दिएका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक प्रेम प्रसाद शर्मा तीमध्ये धेरै मुद्दाको छिनोफानो भइसकेको बताउँछन् । कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले पछिल्ला वर्षमा यस प्रकारका उजुरी नपरेको बताए ।
कर्णाली प्रदेशमा एउटै आर्थिक वर्षमा १९ वटा उजुरी किन परे त्यसपछि वा अगाडिका वर्षहरूमा किन उजुरीको सङ्ख्या शून्य छ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर भने हामीले भेट्टाउन सकेनौँ ।
यस्ता घटनाहरू मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने घटेका छैनन् । प्रहरीको विगत पाँच आर्थिक वर्षको तथ्याङ्कले ‘पारपाचुके’ गरेका श्रीमानबाट बलात्कृत हुने महिलाहरूको सङ्ख्या यी तीन प्रदेशमा शून्य रहेको देखाउँछ छ ।
कर्णालीपछि धेरै घटनामा भएकोमा बागमती प्रदेश (काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक) देखिन्छ । पाँच आ.व को अवधिमा यहाँ १० वटा घटना दर्ता भएकोमा प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा समान चार/चार वटा र काठमाडौँ उपत्यकाका तीन जिल्लामा पाँच वटा घटना दर्ता भएका छन् ।
यस्ता घटना विश्वका विभिन्न देशहरूमा हुन्छन् छिमेकी मुलुक भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूमा पनि यस्ता घटनाहरू घटेको पाइन्छ । धेरै घटनाहरू रिसीवी र आवेगमा हुने गरेको विभिन्न प्रतिवेदनले देखाएको छ ।
मनोविद् गोपाल ढकाल भन्छन्, पारपाचुके गरेका श्रीमानबाट बलात्कारमा परेका घटनाहरू छिट फुट रूपमा सञ्चारमाध्यममा आउने गरेका छन् । ढकाल यस्ता घटनामा दुई वटा प्रमुख कारण रहेको बताउँछन् । सम्वन्धविच्छेद भनेको कागजी रूपमा गरिएको सम्झौता हो तर आत्मीयता र भावनात्मक सम्बन्ध भने कायम भइराखेको हनु सक्छ । पुरुषहरूले मेरो आफ्नो पहिलेको श्रीमती त हो पारपाचुके त कानुनी कुरा मात्रै हो भन्ने सोचले पनि सम्बन्धहरू बन्ने हुन्छन्, र पछि बलात्कारमा परिणत हुने गरेका छन् ।
दोस्रो कारण भनेको रिसिवी पनि हो । पारपाचुके गरेका श्रीमान् श्रीमतीहरू पनि एक आपसमा भेटघाट गरिरहेका हुन्छन् । यहीबिचमा उनीहरूबिच शारीरिक सम्बन्ध स्थापित भयो भने उक्त सम्बन्धलाई रिसिवीको कारणले गर्दा जबरजस्ती करणीको उजुरी सम्म पुग्ने हुनसक्छ ।
सम्वन्धविच्छेद गर्दा लोग्नेले श्रीमतीलाई सम्पत्ति अंशबन्डा गरेर दिनुपर्ने वा एकमुष्ठ रकम वा खर्च भराई दिनपर्ने कानुनी व्यवस्था छ । मेरो सबै सम्पत्ति लगी भन्ने रिस वा द्वेषको भावनाबाट पनि पूर्व पतिहरूले पारपाचुके गरेकी महिलामाथि जबरजस्ती करणी गर्न सक्ने मनोविद् ढकाल बताउँछन् ।
समाजशास्त्री निर्मला ढकाल भने यी उजुरीलाई हेर्दा पुरुषले इगो र महिलाले अस्त्रको रूपमा प्रयोग गरेको हो कि भनेर अनुमान गर्न सकिने बताउँछिन् । केटिएम दैनिकसँगको कुराकानीमा ढकालले भनिन्, ‘ उजुरी पर्नु एउटा कुरा भयो तर छानविनबाट के कुरा पत्ता लाग्यो भनेर थाहा नपाईकन बोल्न सक्ने अवस्था छैन ।’
उनी भन्छिन्, ‘नेपाली समाजमा सम्बन्ध विच्छेद गरिसकेपछि उनीहरू सँगै बस्ने कुरा सम्भव छैन । एकै ठाउँमा बसेको ओहोरदोहोर छ भनेर त्यो सम्भव होला नत्र त यो कुरा अपत्यारिलो जस्तो लाग्छ ।’
सम्बन्ध विच्छेद पछाडि श्रीमान् र श्रीमतीमा इगोहरू पाइने गरेको छ । जुन कुराहरू पछिल्लो समय एक अर्कामा आरोप प्रत्यारोप लगाइएका उदाहरणहरू मिडियासमक्ष आएका छन् । श्रीमानले पनि मेरो सम्पत्ति पनि लगी मलाई पनि छाडेर गई भनेको इगोको रूपमा प्रयोग गरेर सम्बन्ध राखेको पनि हुन सक्छ । श्रीमतीले पनि यसलाई बदला लिएर फसाउँछु भनेर अस्त्रको रूपमा पनि प्रयोग गरेको हुन सक्छ ।
उनी भन्छिन्, ‘पछिल्लो समय बदलाको लागि पनि बलात्कारको उजुरी दिने चलन बढेको छ । उजुरी पर्ने बित्तिकै यहीँ सही हो यहीँ गलत हो भन्न सक्ने अवस्था छैन । छानबिन हुने, छानबिनबाट को सही हो भनेर यकिन हुने हो । उजुरीलाई नै सही आङ्कलन मान्ने कि उजुरी पछि छानबिन भएर केस कसरी अगाडि बढ्यो भन्ने कुरालाई ध्यानमा राख्नु पर्ने हुन्छ ।’
नोट : यसमा प्रयोग गरिएको महिलाको स्केच बलात्कार विरुद्धको कानुनसम्बन्धी जानकारी पुस्तिका बाट लिइएको हो ।