२०७९ साल जेठ महिनाको १६ गते सामाजिक सञ्जाल टिकटकमा एउटा भिडिओले धेरै नै चर्चा पायो । भोजपुर घर भएकी एक जना १३ वर्षीया नाबालिगले ७ महिनामै सन्तानलाई जन्म दिइन् । शारीरिक रूपमा अशक्त उनलाई सुत्केरी गराउन धरानको बीपी कोइराला अस्पताल ल्याइएको थियो ।
अस्पतालमा कार्यरत एक जना कर्मचारीले उनको भिडियो खिचेर टिकटकमा हालेकी थिइन् । उनले लेखेकी थिइन्, ‘बिचरा बहिनी ! न बोल्न सक्छिन्, न सुन्न ! शारीरिक रूपमा अशक्त छिन् । यिनलाई यस्तो हालत बनाउने बलात्कारीलाई कडा भन्दा कडा कारबाही होस ।’
उक्त भिडियो हेरेर धेरैको आँखा रसाए । धेरैले उनलाई यो अवस्थामा पुर्याउनेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरे । सुरुको ४/५ दिन सामाजिक सञ्जालमा निकै नै हल्ला खल्ला भयो । धेरैले नेपाल प्रहरीलाई ट्याग गरेर सत्य तथ्य पत्ता लगाउन आग्रह पनि गरे ।
तर, टिकटकमा भएको भिडियोमा भोजपुर घर भनेर लेखिएको भएता पनि कुन ठाउँ हो भनेर खुलाइएको थिएन । भोजपुर जिल्लामा यस किसिमको कुनै पनि उजुरी नपरेको हुनाले प्रहरीलाई खोजी गर्न पनि समस्या भयो ।
केही दिन पछि उक्त भिडियो पोस्ट गर्ने कर्मचारी केटिएम दैनिकको सम्पर्कमा आइन् । उनले भनिन्, ‘नाबालिग आफैँ पनि केही गर्न नसक्ने अवस्थामा छिन्, शारीरिक मात्र हैन, उनी मानसिक रूपमा पनि अस्वस्थ्य छिन् । उनलाई आफ्नो सन्तानको बारेमा पनि कुनै चासो छैन ।’
अपाङ्गता भएका महिला विरुद्ध हुने गरेका हिंसा, बलात्कारका घटना खासै बाहिर आउँदैनन् । यदि आइहाले पनि उजुरी गर्न नमान्ने वा अदालतसम्म पुगेका घटना समेत पीडकको दबाब, परिवारलाई धम्की वा आर्थिक प्रलोभन देखाएर पनि पीडितले बीचमै छाड्ने गरेका थुप्रै उदाहरणहरू हामीमाझ रहेका छन् ।
‘बुवाले हामी कतै उजुरी नगर्ने, मेरो नाति हो म पाल्छु भनेर घर लिएर जानु भयो । उहाँले आफ्नो ठेगाना कसैलाई शेयर नगर्नु भन्नु भएको छ । तसर्थ म उहाँको गोपनीयताको ख्याल गर्छु’ उनले भनिन् ।
यो प्रकरणलाई नजिकबाट नियालेकी राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सङ्घीय सदस्य तथा राप्रपा नेतृ देबु पराजुलीले भनिन्, ‘अपाङ्गता भएका बालिका/महिलाहरूलाई दुर्व्यवहार गर्दा खासै फरक नपर्ने हानिकारक सोचबाट समाज ग्रसित भएको छ । उनीहरूलाई हामीले जे गरे पनि हुन्छ, पेटभरि खान पाउनु नै उनीहरूको लागि ठुलो कुरा हो भन्ने मानसिकता भएको व्यक्तिहरू पनि छन् ।’
कात्तिक २५ गते दोलखाको वैतेश्वर गाउँपालिकामा सुनाई तथा बोलीजन्य अपाङ्गता (बहिरा) भएकी २० वर्षीया युवतीको पेटमा १७ देखि २० हप्ताको गर्भ रहेको विद्यालयको शिक्षकले थाहा पाए । लगत्तै उनलाई परिवार बोलाएर जिम्मा लगाइयो ।
२/३ दिनसम्म उनी कोहीसँग केही बोलिनन् । दोभासेको अभावमा उनले आफ्नो कुरा बुझाउन सकिनन् । त्यसको केही दिन पछि काठमाडौँबाट दोभासे बोलाएर पीडकको बारेमा सोध्दा ती युवतीले गाउँकै एक ७२ वर्षीया वृद्धलाई इङ्गित गरिन् । प्रहरीले थप अनुसन्धानको लागि भन्दै ती वृद्धलाई नियन्त्रणमा लिएको छ । तर ती वृद्धले आफू निर्दोष रहेको बताइरहेका छन् ।
उनको परिवारले पनि उनको वास्ता गर्न छाडेका छन् । अहिले उनी सेफ हाउसमा बसिरहेकी छिन् र सन्तानलाई जन्म दिने निचोडमा पुगेकी छन् ।
‘हामीले हाम्रो बच्चालाई घरमा नै सुरक्षित राख्न सकेको छैनौँ, अपाङ्गता भएका बालबालिकाहरूलाई झर्को फर्को गर्छौँ । उनीहरू मायाको लागि छटपटाइरहेका हुन्छन् । कुन माया हो र कुन दुर्व्यवहार हो भन्ने कुरा बुझ्दैनन् । लगातार हिंसामा परिरहन्छन् र गर्भवती भएपछि मात्र कुरा बाहिर आउँछ ।’ पराजुलीले भनिन् । यो विकराल अवस्था गाउँमा मात्र हैन शहरमा पनि छ ।
‘बालबालिकाहरूलाई पनि आफूभन्दा ठुलाले भनेको सबै कुरा मान्नु पर्छ भनेर हामीले नै सिकाएको हुन्छौँ । कस्तो कुरा मान्ने र कस्तो कुरा नमान्ने भनेर सिकाउँदैनौँ । सुस्त मनस्थिति भएका महिलाहरूलाई झन् सबै मानिसहरूलाई विश्वास गर्नुपर्छ । कसैसँग विवाद गर्नुहुँदैन, उनीहरूले भनेको मान्नै पर्छ भनेर सिकाइएको हुन्छ जसले गर्दा उनीहरू प्रतिवाद गर्न सक्दैनन् र विभिन्न हिंसाको शिकार बनिरहेका हुन्छन् ।’ उनले भनिन् ।
विशेष गरी पीडितले आफूलाई दरिलो गरी उभ्याउन नसक्नु, परिवारको सहयोग नपाउनु र उजुरी गरिसकेपछि पनि अदालती प्रक्रिया लामो, झन्झटिलो र महँगो समेत हुने हुँदा निरन्तर न्यायका लागि पहल गर्न नसक्नु पनि यसमा कारण रहने गरेको पराजुली बताउँछिन् ।
‘अपाङ्गता क्षेत्र वा अभियान सबै ठाउँमा सशक्त नहुने भएका कारण आवाज कमजोर हुनु र अन्य मानव अधिकार, महिला अधिकारका अगुवाहरूले समेत बेवास्ता गर्नाले, अपाङ्गता भएका महिलाका मुद्दा सरकारवादी हुने अनि बेवास्ता गरिनुले पनि समस्या सिर्जना हुने गरेको छ ।’ उनले भनिन् ।
हामी सधैँ छोरी सुरक्षित भएनन् भनेर विभिन्न कार्यक्रमहरू गर्छौँ, सामाजिक सञ्जालमा भित्ताहरूमा लेख्छौँ, ऐक्यबद्धता जनाउँछौँ तर अपाङ्गता भएका व्यक्तिहरूको कुरा आउँदा भने चुप बस्छौँ । सिन्धुली घर भएर अनामनगर बस्ने रश्मी अधिकारी भन्छिन् ।
हामीले देखेको समाज र हामीले भोगेको समाजमा धेरै फरक रहेको बताउँदै अधिकारी भन्छिन्, ‘मेरी छोरी राम्रोसँग हिँडडुल गर्न तथा बोल्न सक्दिनन् । उनको जन्म भएदेखि नै मैले विभिन्न किसिमका मानसिक हिंसाहरू सहँदै आएको छु । म आमा हुँ र मैले जन्माएको छोरीलाई अनावश्यक गाली गरेको म सहन सक्दिन । स्वतन्त्रतापूर्वक बाँच्न पाउने उनको अधिकारको म पुर्णरुपमा सम्मान गर्छु ।’
श्रीमान् र परिवारले दिएको मानसिक तनाव खप्न नसकेर उनले अहिले सम्बन्ध विच्छेद गरेकी छिन् । तरकारी बेचेर भए पनि आफ्नो छोरीलाई राम्रो शिक्षा दीक्षा दिइरहेकी छिन् । आफ्नो जस्तो हजारौँ छोरीको हक र हितको लागि लड्ने उनले प्रण गरेकी छिन् ।
धेरै जसो विभेद परिवार र आफन्तबाट सुरु हुन्छ । उसलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर कसैले पनि नसोच्ने रहेछन्, ‘अर्काको घर जाने जात ती माथि अपाङ्गता भएको व्यक्ति ? कसरी पाल्छौँ भनेर हामीलाई नै हतोत्साहित गर्ने रहेछन् ।’
‘सन्तान जस्तोसुकै भए पनि हामीले उसलाई माया र सम्मान गर्नुपर्छ । अपाङ्गता रहर हैन बाध्यकारी हो भनेर सबैले बुझ्न जरुरी छ ।’ अधिकारीले भनिन् ।
भक्तपुरको कौशलटारमा भेटिएकी ३५ वर्षीया रुपा शारीरिक अपाङ्गता भएकी महिला हुन् । समाजले गर्ने विभेदपूर्ण व्यवहारबाट उनी आजित भएकी छिन् ।
अपाङ्गता भएका महिलाहरूले घर–परिवार, समाज र सार्वजनिक स्थलमा समेत अपमानजनक व्यवहार खेप्नुपरिरहेको उनी बताउँछिन् । यस्ता खालका दुर्व्यवहारबाट कसरी मुक्त गराउन सकिन्छ भनेर सोचिरहन्छिन् तर उनको कुरा सुनिदिने कोही पनि छैन ।
‘हामी राज्यले दिने सेवा सुविधाबाट मात्र वञ्चित होइन समाजका अगुवाहरूबाट पनि प्रताडित छौँ,’ उनी भन्छिन्, ‘न अपाङ्गतामैत्री संरचना र कानुन छन्, न त सम्मानजनक व्यवहार नै छ । शारीरिक रूपमा अशक्त र फरक क्षमता भएका महिलाहरूलाई पाइलैपिच्छे विभेद भइरहेको उनको अनुभव छ । ‘हिंसा भनेको कुटपिट गर्नु मात्र होइन, भावनामा चोट पुर्याउनु पनि हो,’ उनले भावुक हुँदै भनिन् ।
अपाङ्गता भएका महिलाको अवस्था नाजुक रहेको र थप विभेद खेप्नु परेको रुपाको अनुभव छ । अपाङ्गता भएका महिलाहरूले ‘लैङ्गिकताका आधारमा विभेद छ,’ उनले भनिन्, ‘अपाङ्गता पनि भएकाले झन् समाजले समेत हामीमाथि अनेक हिंसा गरिरहेको छ, अपहेलित हुनुपरेको छ । अपाङ्गता भएका महिलालाई हरेक ठाउँमा धेरै नै सङ्घर्ष र चुनौतीको सामना गर्नुपर्छ, समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन ।’
अपाङ्गता भएका महिलाहरू नेतृत्वदायी भूमिकाको पहुँचमा नभएसम्म अहिलेको अवस्थामा सुधार नहुने रुपाको बुझाइ छ । ‘जसको नीति र सवाल उसैको नेतृत्व हुन आवश्यक छ,’ उनी भन्छिन्, ‘नभए हामी कहिलेसम्म अवसरबाट वञ्चित भइरहने ?’
पछिल्लो समय महिला तथा बालबालिका माथि हुने हिंसा दिनानुदिन बढिरहेको छ । त्यसमाथि पनि सबैभन्दा धेरै पीडामा अपाङ्गता भएका महिलाहरू छन् भन्दा फरक नपर्ला ।
अपाङ्गता भएका महिला विरुद्ध हुने गरेका हिंसा, बलात्कारका घटना खासै बाहिर आउँदैनन् । यदि आइहाले पनि उजुरी गर्न नमान्ने वा अदालतसम्म पुगेका घटना समेत पीडकको दबाब, परिवारलाई धम्की वा आर्थिक प्रलोभन देखाएर पनि पीडितले बीचमै छाड्ने गरेका थुप्रै उदाहरणहरू हामीमाझ रहेका छन् ।
नोट: यस समाचारमा प्रयोग गरिएका स्केचहरू दुर्ब्यवहार हिंसा तथा आत्मसुरक्षा नामक पुस्तकबाट लिइएको हो ।