बालापुर (दाङ), १६ साउन । आफन्तको घरमा गएर फर्कने क्रममा खोलाले बगाएर एक व्यक्तिको निधन भएको छ ।
तुलसीपुर उपमहानगर-२ झारगाँउ बस्ने बर्ष ६७ को तेज बहादुर भण्डारी र सोही स्थानका चेत बहादुर भण्डारी शान्तिनगर गाउँपालिका-४ गिदनियामा रहेका आफन्तको घरबाट फर्कने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
बाटोमा पर्ने चिराघाट खोला तर्ने क्रममा दुबै जनालाई खोलाले बगाएकोमा चेत बहादुर भण्डारी पौडी खेलेर बाहिर निस्किन सफल भएका थिएन भने तेज बहादुर भण्डारीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमिल्सनाले बताए ।
खोलाले झण्डै एक किलोमिटर तलसम्म बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बालापुर बाट खटिएको प्रहरीले खोलाबाट बाहिर निकाल्दा उनको ज्यान गइसकेको डिएसपी तिमिल्सनाले जनाए ।
मृतकको शव पोस्टमार्टमको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाईएको घटना बारे थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।