
काठमाडौं, १६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले बलाधिकृत रथी अशोकराज सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेबारी सुम्पिएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने र साउनको २५ गतेदेखि घर बिदामा बस्ने भएकाले बलाधिकृत रथी अशोकराज सिग्देललाई ज्येष्ठताक्रममा कामयमुकायम प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले भदौ २५ गतेदेखि लागू हुने गरी सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्न सिफारिस गरेको थियो।
अवकास हुन लागेका प्रधानसेनापति शर्माले सिग्देललाई साउन २४ गते कमान्ड हस्तान्तरण गर्ने तयारी जंगी अड्डाले गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेनामा प्रधानसेनापतिले अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड सुम्पने चलन छ।