
काठमाडौँ, १५ साउन । केही समयपछि सेवा निवृत्त हुन लागेका प्रधानसेनापति प्रभुराम शर्माले आज भर्चुअल माध्यमबाट पृतनापतिहरूलाई सम्बोधन गरेका छन् ।
प्रधान सेनापतिले शर्माले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको ३ वर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई सम्बोधन गरेका हुन् ।
भदौ २४ मा आफ्नो कार्यकाल पूरा गर्न लागेका प्रधानसेनापति प्रभुराम शर्मा आगामी साउन २४ गतेसम्म जिम्मेवारीमा रहनेछन्। त्यसपछि उनी बिदा बस्नेछन्।
सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालमा नेपाली सेनालाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीका साथै नेपाल सरकारबाट प्राप्त थप जिम्मेवारी कुशलतापूर्वक वहन गर्न पुर्याएको योगदानका लागि पृतनापति लगायत अन्तर्गतका सकल दर्जालाई धन्यवाद दिए ।
उनले व्यक्ति केन्द्रित आकस्मिक योजनाहरू भन्दा पनि बस्तुगत अन्तर्क्रिया, तार्किक बहस र विस्तृत पुस्ट्याइँ सहितको सामूहिक योजनाहरूले नेपाली सेना समस्त नेपाली जनताको आड र भरोसाको धरोहर रहेको बताए ।
पृतनापतिहरूलाई सदैव राष्ट्रिय सुरक्षा एवं राष्ट्र हित अनुरूप असरदार रूपमा कार्य गर्न समेत उनले निर्देशन दिए ।
सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाले अनुसरण गर्दै आएको सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी सङ्गठनको रूपमा स्थापित गराई राख्न भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ सहयोग दिई रहनु हुनेछ भन्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा उनले हाल मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकल दर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन निर्देशन समेत दिए।
बलाधिकृत रथी अशोक राज सिग्देल युद्ध कार्य विभागका निमित्त विभागीय प्रमुख लगायत रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिहरूले प्रधान सेनापति समक्ष विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालन लगायत समसामयिक विषयमा प्रस्तुतीकरण दिएका थिए।