
काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले अघिल्ला वर्षहरू जस्तै यस वर्ष पनि नयाँ नोट सहटी सुविधा आजदेखि सुरु गरेको छ ।
राष्ट्र बैंकले एक सूचना गर्दै आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरिएको जनाएको हो ।
केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

‘काठमाडौं उपत्यकाबाहिरका हकमा राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटही सुविधा लिन सकिन्छ ।’

यस वर्ष पनि ५, १०, २०, ५० र १०० रुपैयाँका एक-एक बन्डल गरी एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

नयाँ नोट लिनको लागि आज नेपाल राष्ट्र बैंक बालुवाटारमा मानिसहरूको निकै भिड रहेको थियो ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
दशैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबरको नयाँ नोट राष्ट्र बैंकले वितरण गर्दछ ।
