
काठमाडौं । सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा कार्यरत चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर आज पनि प्रदर्शन गरिएको छ ।
आइतबार अस्पतालको नेफ्रोलोजी ओपीडीमा कार्यरत मनिष खड्का नाम गरेका इन्टर्न डाक्टरलाई लेखेटी, भुईंमा बेहोस हुनेगरी पछारेर घाइते बनाइएको थियो ।
उक्त घटनापछि त्यहाँ कार्यरत इन्टर्न, मेडिकल अफिसर, आवाशीय चिकित्सक तथा सम्पूर्ण मेडिकल विद्यार्थीहरु हिजोदेखि अस्पताल अगाडि प्रदर्शन जारी राखेका छन् । उनीहरूको प्रदर्शन आज पनि जारी छ ।
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो।
नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको बताइएको छ।
प्रहरीका अनुसार कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।
काठमाडौ मेडिकल कलेज परिवारको नाममा नेपाल मेडिकल काउन्सिलाई पठाइएको पत्रमा इन्टर्न डक्टर खड्कालाई लेखेटी-लखेटी, भुईंमा बेहोस हुनेगरी पछारेर घाइते बनाएको जनाइएको छ ।
प्रदर्शनमा सहभागीहरूले “अस्पताल भित्रै गुन्डागर्दी लजायो होला प्रहरीको बर्दी”, बिरामीको सेवा मात्र हाम्रो धर्म ? कसले बुझिदिने हाम्रो मर्म”, “वार कि पार अति भयो अत्याचार”,”नो सर्भिस विथआउट सेक्युरीटी” लगायतका प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरू
















