
काठमाडौँ । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ ।
‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा बुधबारदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन्।
शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको छ भने काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर सम्मको ट्राफिक अस्तव्यस्त बनेको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा ७७ वटै जिल्लाका सामुदायिक विद्यालयबाट शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका हुन्।
बुधबार काठमाडौँको माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वर पुगेर फर्किएको शिक्षकको र्याली माइतीघरमा नै फर्किएर कोण सभामा परिणत भएको थियो।

विधेयक तयारीका क्रममा सरकार, विभिन्न दलका नेता र सांसदहरूसँग पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गराउँदा पनि नसमेटिएको आरोप उनीहरूको छ।काठमाडौं केन्द्रित आन्दोलनमा एक लाखभन्दा बढी शिक्षकहरू सहभागी भएको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको दाबी छ।
संसदमा दर्ता भएको शिक्षा विधेयक परिमार्जन गरेर राखिएका मागहरू सम्बोधन गरिनुपर्ने उनीहरूको माग छ। माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने उनीहरूको अडान छ।



















