काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।
तीजको अवसरमा आज बिहान ६:०० बजेदेखि बेलुकी ७:०० बजेसम्म पुरुष दर्शनार्थीलाई मन्दिर प्राङ्गणमा प्रवेशमा रोक लगाइएको छ ।
पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारी निषेध गरिएको छ । पशुपति क्षेत्रमा नेपाली सेनालगायतले स्वास्थ्य शिविर पनि खडा गरेका छन् ।
पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा वर्तालु महिलाको भीड लागेको छ ।
हेरौं तस्बिरहरू