काठमाडौं । टोखा नगरपालिका-५ सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका-८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका-४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका-२ पातले गाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका छन् ।
अवैध रूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।
यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो। २०७५ सालमा पहिलोपटक जनकपुरमा उक्त रंगको कछुवा फेला परेको थियो । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको हो ।