काठमाडौं । मकवानपुर र नुवाकोटमा जंगली जनावरको आक्रमणमा परेर पाँच जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरको हेटौंडा उपमहानगर-१५ सएफुटमा बाघको आक्रमणमा परेर दुईजना घाइते भएका हुन् भने नुवाकोटमा भालुको आक्रमणमा परेर तीनजना घाइते भएका हुन् ।
बुधबार बिहान ८ बजे बाख्रा चराउन हेटौंडाको चुरियामाई सामुदायिक वनमा गएका एक वृद्ध र एक किशोरलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । आक्रमणमा पर्नेमा वर्ष १७ को सुमन घलान र वर्ष ६५ को कृष्ण बहादुर थिङ रहेका छन् ।
उनीहरूको शरिरको विभिन्न स्थानमा बाघले टोकेको छ दुवैको हेटौंडा अस्पतालमा उपचार जारी छ ।
त्यस्तै नुवाकोटको ककनी गाउँपालिका-१ कागती गाउँमा बुधबार बिहान आठ बजे जंगली जनावर भालुले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय वर्ष २६ को राम बलामी, ४२ वर्षीय दिपक बलामी र ३३ वर्षकी सरस्वती बलामी रहेका छन् ।
घाइतेमध्ये राम बलामीको काठमाडौंको बालाजुस्थित पिपल्स अस्पतालमा, दिपक बलामीको ग्राण्डी र सरस्वतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने भालुलाई ललितपुरबाट चिडियाखानाको टोलिले दिउँसो नियन्त्रणमा लिई चिडियाखाना लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।