
काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।
आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ ।
वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।
आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । यस उपलक्ष्यमा पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्ने गर्दछ ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
नागपञ्चमीको अवसरमा आज काठमाडौँको नागपोखरीमा विधि पुर्याएर नागकत्त पूजा गरिएको छ । धार्मिक विश्वास राख्नेहरू विहानै नागपोखरी पुगेर पूजा अर्चना गरेका हुन् ।
हेरौं तस्बिरहरू