झापा । झापाको चन्द्रगढी चारआली सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको मारुती सुजुकी (ईको) भ्यानको नम्बर प्लेट नक्कली भएको खुलेको छ ।
गत असार २८ गते भद्रपुर नगरपालिका-१० धनुषमोड स्थित चन्द्रगढी चारआली सडक खण्डको पश्चिम छेउमा बेवारिसे अवस्थामा भेटिएको मे १ च २९८६ नम्बरको उक्त सवारीसाधनको धनी खोजी गर्दा अहिलेसम्म फेला परेका थिएनन् ।
सवारीसाधनको धनी फेला नपरेपछि प्रहरीले यातायात व्यवस्था कार्यालयसँग उक्त सवारीसाधनको विवरण माग्दा इन्जिन र चेसिस नम्बर मेल नखाएको हो ।
कार्यालयको विवरणमा उल्लेख गरिएको इन्जिन र चेसिस नम्बर उक्त सवारीसाधनसँग मेल नखाएपछि नक्कली नम्बर प्लेट राखेर चलाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
अन्दाजी २० लाख मूल्य बराबरको उक्त सवारीसाधनलाई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।