
काठमाडौँ । रुसले युक्रेनमाथि गरेको आक्रमण बन्द गर्न माग गर्दै आज काठमाडौँस्थित रुसी राजदूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरे पश्चात् सुरु भएको रुस-युक्रेन युद्धको ५०५ औँ दिन मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडौँस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा ‘रुस: तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिन: मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘रुसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु’, ‘करोड बढी शरणार्थी/आन्तरिक रूपमा विस्थापित’, ‘खरबौँको क्षति’, लगायतका प्लेकार्ड प्रदर्शन गर्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले केटिएम दैनिकलाई बताइन् ।
प्रदर्शन पश्चात् रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापन पत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको छ ।
ज्ञापन पत्रमा युद्धका कारण मानवता पराजित भइरहेको दुखद अनुभव शान्ति समाजले गरेको उल्लेख गर्दै सन् २०२२ को फेव्रुवरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तत्काल अन्त्य गर्न पुनः आग्रह गरिएको छ ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, लगायत चार दर्जन शान्तिवादीहरूको सहभागिता थियो ।
यसै गरी असार २८ गतेकै दिन रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवा लगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाहरूले प्रदर्शन गरेका छन् ।
तस्बिरहरू