
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ की जीवनसंगिनी सीता दाहाल पार्थिव शरीरलाई विभिन्न राजनैतिक दलका नेता तथा सासंदहरूले श्रद्धान्जली दिएका छन् ।
माओवादी केन्द्रका सल्लाहकार समेत रहेकी दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको छ ।
उनलाई श्रद्धान्जली दिनको लागि नेपाल र चीनका राजदूत, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, नेपाली सेनाका प्रधानसेनापति, माओवादी केन्द्रका विभिन्न तहका नेताहरू, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेकपा (एस) लगायतका पार्टीका नेता तथा सासंदहरू कोटेश्वर पुगेका हुन् ।
नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू भने अन्तिम बिदाईमा पशुपति आर्यघाट नै पुग्ने बताइएको छ । श्रद्धान्जली सभामा ललितपुर महानगरपालिकाका मेयर चिरिवाबु मर्हजन समेत पुगेका थिए ।
केही नेताहरू भने नर्भिक अस्पताल नै पुगेका थिए । नर्भिक अस्पताल पुग्नेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत थिए ।
दाहालको आज बिहान ८:३३ बजे काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित थिइन् । यसअघि पनि उनलाई पटक-पटक देश तथा विदेशका अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहालको २ बजे पशुपति आर्यघाटमा दाहालको अन्तिम संस्कार गरिने भएको छ ।
हेरौं तस्बिरहरू