काडमाडौं । सरकारले बजेटमा आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले काठमाडौंको सडकमा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्।
आइतबार काठमाडौंको माइतीघरबाट नयाँबानेश्वरसम्म थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आह्वानमा उक्त प्रदर्शन भएको हो। समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै विरोध जनाएको हो।
प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निःशुल्क शिक्षा लागु गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विद्यालयमा काम गर्ने कर्मचारीहरु खानका लागि समस्या भएको भन्दै सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ ।
हेरौं तस्बिरहरू