
भक्तपुर । भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले नि:शुल्क रगत पाउन थालेका छन् ।
विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि नि:शुल्क रगत उपलब्ध गराउन थालेपछि यहाँका बासिन्दाले नि:शुल्क रगत पाउन थालेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नि:शुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि रेडक्रसले बिरामीका लागि अत्यावश्यक रगत नि:शुल्क उपलब्ध गराउन थालेको हो ।
रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रगत नि:शुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिसपत्र पेश गरेको आधारमा बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउन सुरु गरिएको जानकारी दिए।
बिरामीलाई रेडक्रसले नि:शुल्क उपलब्ध गराएको रगतको शुल्क भने सम्बन्धित नगरपालिकाले सोधभर्ना दिने सहमति गरेसँगै रगत नि:शुल्क उपलब्ध गराउन थालेका हो ।
उनले भने, “जिल्लाका चारवटै नगरपालिका र रेडक्रसले नि:शुल्क रगत उपलब्ध गराउनेबारेमा सम्झौता भएपछि यो सेवा सुरु गरेका हौं, बिरामीलाई रगत दिएपछि त्यसको शुल्क नगरपालिकाले व्यहोर्ने गर्छ, बिरामीले नि:शुल्क रगत पाउन थालेपछि आर्थिकरूपमा विपन्न नागरिकलाई निकै राहत पुगेको छ ।”
अहिलेसम्म रेडक्रसले करिब एक हजार छ सय ५४ जना भक्तपुर जिल्लावासीलाई दुई हजार पिन्ट रगत एवं रक्ततत्व नि:शुल्क वितरण गरेको छ । सबैभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीका लागि रगत माग हुने गरेको छ ।
सभापति थापाका अनुसार भक्तपुरमा रगतको अभाव छैन । दैनिक विभिन्न ठाउँमा हुने रक्तदान र आकस्मिक रक्तदानबाट रगतको आपूर्ति भइरहेको छ । भक्तपुरमात्रै नभई काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक र उपत्यका बाहिरका अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि समेत रगत उपलब्ध गराइरहेको उनले जानकारी दिए ।