काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले, पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ ।
चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।
यद्यपी नेपालमा त्यस्तो छैन । निर्देशक आफैंले छनोट गर्ने गरेका छन् । केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ । उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ । पात्र सुहाउँदो कलाकारका लागि अडिसन पनि लिने गरिन्छ ।
पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागतरूपमै हुन थालेको निर्देशक दिनेश राउतले बताए।
उनी निर्देशित पछिल्लो चलचित्रमा पात्रअनुसार कलाकार छनोट गर्ने दायित्व रङ्गकर्मी अनुप बराललाई दिइएको थियो।
“सुरुआती समयमा म निर्देशनमै केन्द्रित रहें। म बजार र निर्माताअनुसार प्रस्तुत भएँ तर, पछिल्लो चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’मा मैले सम्पूर्ण जिम्मेवारी छुट्याएर काम गरेको छु”, निर्देशक राउतले भने, “अहिले चलचित्र निर्माण शैली फेरिएको छ । यो कलाकार चाहियो पनि भन्न सक्छौं । केही कलाकार अडिसनमार्फत नै छनोट गरेको छु ।”
उनले चलचित्र ‘प्रकाश’ मा अभिनेत्रीमा रेणु योगीलाई अडिसनमार्फत नै चयन गरेका थिए । कलाकार महेश त्रिपाठी अडिसन दिन हिच्किचाउँदैनन्। उनी आफू उक्त चरित्रमा उपयुक्त हुने वा नहुने मापन नै अडिसनले गर्ने बताउँछन्।
“अलि कति नाम चलेपछि अडिसन दिन हामी आनाकानी गर्छौं तर, हामीले पात्रलाई जाँच्ने नै त्यही प्रक्रियामार्फत हो । त्यसले हाम्रो अभिनय क्षमतालाई नभई पात्रलाई हेरिने भएकाले म तयार हुन्छु”, अभिनेता त्रिपाठीले भने, “मैले चलचित्र निर्माण गर्ने समूह हेरेर भने अडिसन दिने गरेको छु । विदेशी चलचित्रमा अडिसन दिएर नै काम गरेको छु ।”
नेपालमा लिइने अडिसन धेरैजसो देखावटी हुने अभिनेत्री विनिता थापामगरले बताइन्। उनले पनि प्राय: काम अडिसनमार्फत नै पाउने गरेकी छन् तर, उनको अनुभव राम्रो छैन ।
“पहिले कलाकार तय गरेर देखावटी अडिसन गर्ने पनि पाएकी छु । त्यसैले, अडिसन दिन जाँदा सबै बुझेर मात्र जान्छु । यो त पात्रमा सुहाउँदो कलाकारलाई अवसर हो तर, यहाँ भौगोलिक भिन्नता देखिने कलाकारलाई पनि छनोट गरिन्छ”, अभिनेत्री थापामगरले भनिन्।
दशक अगाडि अडिसन गर्ने प्रक्रिया बढेको थियो । किनकि नयाँ अनुहार चलचित्रमा देखिन थालेका थिए । कलाकारले अडिसन दिन हिच्किचाउने कारण नै यो प्रक्रिया घटिरहेको निर्देशक विक्रम सापकोटाले बताए।
उनले चलचित्र निर्माण गर्ने क्रममा केही कलाकारलाई अडिसनका लागि अनुरोध गर्दा नमानेको सम्झिए। “मैले चलचित्रका केही प्रसिद्ध कलाकारलाई आग्रह गर्दा मान्नु भएन । त्यसपछि रङ्गमञ्चमा रहेका कलाकारको अडिसन लिएर छनोट गरेको हो”, उनले भने ।
कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्वपूर्ण विषय हो तर, नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप चलचित्र भवनमा हुने व्यापारकै आधारमा तय हुने गरेको छ ।
बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ । रासस