काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत २४ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिए । पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले प्रहरी अधिकृतहरूले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको रूपमा लिने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए।
समारोहमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यवोधको थप उर्जा प्राप्त भएको तथा संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिवद्ध रहने विचार व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।