काठमाडौं । महोत्तरीको बर्दिबासबाट मिटर ब्याजी विरुद्धको आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरूले आज काठमाडौंको खुल्ला मञ्चमा प्रर्दशन गर्ने भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेल हुँदै काठमाडौँको मातातीर्थ आइपुगेका उनीहरूले आज १२ औं दिनमा प्रदर्शन गर्ने भएका हुन् ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट मिटरब्याजी विरुद्ध पैदल सुरु गरेका उनीहरू मिटरब्याजीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राख्दै पैदलयात्रामा निस्किएका हुन् ।
बर्दिबासबाट पैदलयात्रा सुरु गरेको ११औँ दिनमा काठमाडौँ छिरेका मिटरब्याज पीडितहरूले आफ्नो समस्याको सुनुवाइ नभएसम्म काठमाडौँबाट घर नफर्कने जनाएका छन् ।
मिटर ब्याज विरुद्धको सङ्घर्ष समिति नेपालका संयोजक मनोज पासवानले ऋण सापटी लिएकाहरू धेरैजसो घरबारविहीन भएको बताउँदै प्रधानमन्त्रीलाई आफ्ना माग सुनाउन र समस्या समाधानका लागि काठमाडौँ आएको बताए ।
उनले यसअघि धेरै पटक सरकारबाट आश्वासन पाएपनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने बताउनुभयो ।
पदयात्रामा महोत्तरी, धनुषा, सर्लाही, सिराहा र सप्तरी जिल्लाका मिटरब्याजपीडितहरुको सहभागिता रहेको छ । अहिले उनीहरूले मातातीर्थमा खाना खाइरहेका छन् । त्यहाँबाट खुल्ला मञ्चमा आएर प्रदर्शन गरिने भएको हो ।
बर्दिबासदेखि पैदलयात्रा गरेर ८५ जना पीडित ११औं दिनमा काठमाडौं आइपुगेका हुन् । आफ्ना मागहरु सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए ।
उनीहरुले तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग राखेका छन् ।
थप तस्बिरहरू