भक्तपुर । नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-२०७९/८०’ को आयोजना हुने भएको छ ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डको आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजकले जानकारी दिएको छ ।
यहीँ चैत्र २३ गतेदेखि २०८० साल वैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए । “हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौँ,” थापाले भने ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् ।यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, बिभिन्न प्रकारका लत्ताकपडाहरूका स्टलहरू हुने संयोजक थापाले बताए ।
कृषि तथा हस्तकलाका सामाग्रीहरू, भाँडाकुडाका सामाग्रीहरू, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।
सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानहरूको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौँ,” औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले भने ।
महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरूबाट करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरूको साङ्गीतिक र हास्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।
महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना हुनेछ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए।
महोत्सवमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले यसबाट लाभ लिनेछन्,, थापाले भने ।
वैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रमको टिकटको मूल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।