काठमाडौं । नेपाल प्रहरीमा आज नयाँ महानिरीक्षक (आइजी) नियुक्त हुने भएका छन्। आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले आइजी नियुक्त गर्न लागेको हो।
बिहीबार बस्ने नियमित बैठकमा आइजी नियुक्ति गर्ने भनिएपनि शुक्रबारका लागि सारिएको थियो। हालका महानिरीक्षक धीरज प्रताप सिंह आजैदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले ३० वर्ष सेवा अवधि पूरा गरेका छन्।
आइजीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरू प्रतिस्पर्धी छन्। बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धी हुन्।
काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्नेलगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् ।
एआइजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन्।
यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंहले भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन्। बज्राचार्यसँगै डिआइजीमा बढुवा भएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि परेकाले उनी महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन्।
यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकाशमा जाँदै छन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन् । हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुन: रिक्त हुन्छ ।