इस्लामावाद । पाकिस्तानको बालाकोट सहरका स्थानीयहरूले यस क्षेत्रको जलविद्युत परियोजनामा बाहिरको मानिसहरु ल्याएर भन्दा पनि स्थानीयहरुलाई नै रोजगारी दिनुपर्ने माग गरेका छन्।
उक्त परियोजना निर्माणमा स्थानीयहरुले ठूलो क्षति व्यहोर्नु परेकोले त्यसको क्षतिपूर्ति स्वरुप भए पनि स्थानीयहरुलाई नै रोजगारीका लागि प्राथमिकता दिनुपर्ने उनीहरुको माग रहेको छ। उक्त माग पूरा गर्न सरकार उदासिन देखिए आन्दोलन गर्ने सरकारी अधिकारीहरूलाई चेतावनी दिएको पाकिस्तानको एक सञ्चारमाध्यमले उल्लेख गरेको छ।
प्रदर्शनकारीहरूले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा सडक प्रदर्शन सुरु गरेको दाबी गरेका छन्। तीन सय मेगावाट क्षमताको बालाकोट जलविद्युत आयोजनामा स्थानीयवासीलाई काममा लगाउन सरकारले पहल नगरे अयुब पुलमा रहेको मंसेरा–नारान–जलखड सडक अवरुद्ध गर्ने उनीहरुले चेतावनी दिएका छन्।
‘धेरै महिनादेखि बाँधमा विभिन्न कार्यक्रममा एक हजारभन्दा बढी स्थानीयले रोजगारीका लागि आवेदन दिएका छन् तर तीमध्ये कसैलाई पनि हालसम्म नियुक्त गरिएको छैन,’ उक्त सञ्चारमाध्यमले स्थानीय मियाँ अशरफलाई उद्धृत गर्दै भनेको छ।
बालाकोटका ४८ वटा गाउँपालिका र वडाका प्रमुख तथा स्थानीय प्रतिनिधिहरुले सम्मेलनमा सहभागीहरुसहित अयुब पुलस्थित एमएनजे रोड बन्द गर्ने निर्णय गरेका छन्।
बालाकोट केन्द्रीय व्यापारी संघका अध्यक्ष जावेद इकबालले बैठकमा मुख्यमन्त्री महमूद खानले आफ्ना विशेष सहायक अहमद शाहमार्फत स्थानीयका सबै माग स्वीकार गरेको बताए।
यसैबीच पाकिस्तानको खैबर-पख्तुनख्वा प्रान्तको मानसेरा जिल्लाको गढी हबिबुल्लाह, सहर र युनियन काउन्सिल (एक प्रशासनिक उपविभाग) का बासिन्दाहरू र नजिकका स्थानीयहरूले सरकारलाई यस क्षेत्रको एकमात्र नागरिक अस्पतालमा एम्बुलेन्स पठाउन माग गरे।
‘यो अस्पतालले व्यापक रूपमा फैलिएको गढी हबिबुल्लाह र एबोटाबाद जिल्लाका केही युनियन काउन्सिललाई पनि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ तर यो अझै पनि एम्बुलेन्सविहीन छ,’ डनले सामाजिक कार्यकर्ता इशाक अब्बासीलाई उद्धृत गर्दै लेखेको छ।
अब्बासीको नेतृत्वमा स्थानीयले सरकारले अस्पतालमा एम्बुलेन्स नपठाने सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अर्को स्थानीय तारिक अब्बासीले उनीहरूले जिल्ला स्वास्थ्य अधिकारीलाई भेटेका थिए र अवस्थाबारे जानकारी दिएका थिए, तर उनले अस्पतालमा एम्बुलेन्स उपलब्ध गराएका छैनन्।