रङहरूको पर्वका रूपमा फागु वा होली भनेर परापूर्व काल देखि मानिँदै आएको चाड अहिले बिस्तारै संस्कृतिका नाममा छाडापन र ग्ल्यामर तर्फ अगाडि बढेको छ।
आफ्नै विभिन्न धर्म ,संस्कृति,भाषा जस्ता लोप भएर पाश्चात्य शैली अपनाउँदा यी धेरै चाडपर्वहरू मौलिकता हराउँदै आधुनिकता तिर जाँदा संस्कृति पनि विकृति बन्दै गएको पाइन्छ।
पाश्चात्य शैली भित्रिने र त्यसको मलजल गर्ने संस्कृति बढ्नुले आगामी दिनमा झन् हाम्रा चाड पर्व माथि विदेशी हस्तक्षेप प्रहर हुनुले देश कता जाँदै छ र हामी कहाँ जाँदै छौ भन्ने नै भुल्न थालेको प्रस्ट देख्न सकिन्छ।
अहिले चारैतिर होली वा फागुले रौनकता छाएको छ । पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको जित वा अधर्म माथि धर्मको जित !जे जसरी व्याख्या गरे पनि होली पर्वलाई सद्भाव भाइचाराका रूपमा मनाउन थालिएको हो।
हरेक वर्ष फागुन महिनामा पर्ने वसन्त ऋतुको आगमनको सुरुवात सँगै स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमी देखि पूर्णिमा सम्म विभिन्न रङ र अवीर एक आपसमा छ्यापाछ्याप गरेर होली खेल्ने परम्परा रहेको छ।
फागु पूर्णिमालाई पहाडी भेगमा मानिसहरूले यसलाई फागु भनेर भन्छन् भने तराईका मानिसहरू यसलाई होली भन्ने गरेको पाउँछौ।
नेवारी परम्परा अनुसार पानीसँग नभएर अवीर र रङसँग होली खेल्ने चलन रहेको पाइएको छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवा युवतीलाई जिस्क्याउँदै लगाउने एक आपसमा माया प्रेम साटासाट गरी मनाउने भएका कारण पनि यो पर्वले उमङ्ग र उत्साह थपिदिने थप ऊर्जा र हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
होली या फागु पूर्णिमाका आफ्ना आफ्नै इतिहास, कहानी वा किंवदन्ती सुन्न पाइन्छ। नेपालको तराई र भारतका विभिन्न स्थानहरूमा दैत्यराज हिरण्य कश्यपले आफ्ना छोरा प्रह्लादले विष्णुको भक्त गरेका कारण धेरै चोटि मार्न प्रयास गरे पनि असफल भएकोले ब्रह्माबाट आगोले नहुने वरदान पाएकी बहिनी होलीकाले प्रह्लादलाई काखमा राखी बलिरहेको अग्नि ज्वालामा बसेर जलाउने प्रयास गरिन् ।तर देवताको वरदानको दुरुपयोग गरेकीले होलीका आफै आगोले पोलेर मरिन् । तर विष्णुभक्त प्रह्लादलाई भने केही पनि भएन । यसरी सत्यका सामु असत्य पराजित भएको र सत्यको विजय भएको खुसीमा होली खेल्दै आएको कथन छ।
‘अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक ब्यु’ होस् या होलिया मेला, मयजु मस्युला अबिर भचाः न: त्ये मज्युला’ जस्ता गाइने यी गीतहरू बिस्तारै लोप भई रहँदा होलीमा विकृति र विसङ्गति भित्रिरहेको अवस्थामा नेपालका विभिन्न भागमा फरक फरक तरीकाले स्थानीय नेवारहरूले आफ्नै मौलिक परम्पराका साथ होली पर्व मनाउने प्रचलन रहिआएको छ यसरी आफ्नो संस्कृति बचाई राखेको देख्न पाइन्छ साथै घरपरिवारका सदस्यले ठुलाबडासँग आशीर्वाद लिई रङ,अबीर लगाएर होली मनाइन्छ र दीर्घायुको कामना गर्ने चलन छ।
आज भोलि रमाइलो र मनोरञ्जनका निम्ति गाँजा, भाङ, जाँड,रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ मिसाई प्रयोग गर्ने तथा सवारी साधन समेतमा लोला हिर्काउने ,सडक बाटोमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत बिना अनुमति रङ र लोला हान्ने जस्ता विकृतिलाई प्रशासनले निगरानी गर्नु पर्दछ।जाँड रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना निम्तिने खतरा र होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न सोही दिन ट्राफिक चेक जाँच कडा हुनु पर्दछ।
सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने, युवा युवतीहरू नशाको सेवन गर्ने भएकाले लडाई झगडा हुने,जसका कारण ठुलो दुर्घटना हुने खतरा रोक्न प्रशासन तत्पर हुनु पर्दछ। रमाइलो सांस्कृतिक कार्यक्रम,कन्सर्ट हुने हुँदा उच्छृङ्खल गतिविधि हुने सडक आगमन अवरोध हुने गरी सडकमा होली खेल्ने कामलाई कम गर्दै बरु आफ्नै घर समूहमा सभ्य र भय रहित तवरले मनाउन आग्रह गर्नु पर्दछ।
बालबच्चाहरूका अभिभावकले पनि उक्त दिन विशेष ध्यान दिनु आवश्यक छ।रँग दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप घरका छतमा बसेर खेल्ने हुँदा छत बाट खस्ने ,बिजुलीका तारमा छोइएर करेन्ट लाग्ने खतरा बढी हुने सम्भावना रहेको हुन्छ।
समय सापेक्ष परिवर्तन भई रहने यी पर्वले विभिन्न रङ्गहरूको माध्यम बाट एक आपसमा प्रेम, आत्मीयता, सद्भाव आदान प्रदान गर्ने भए पनि यो हाम्रो परम्परा ,मौलिकता परिमार्जन भएको छ।तर परिमार्जनका नाममा यसरी लोप हुँदै जाने ,विकृति विसङ्गति बढ्दै जाने परम्परालाई तोडेर पुराना संस्कार,संस्कृतिको रक्षा गरी नयाँ आउने पीढीलाई सकारात्मक सोच सिकाउन आवश्यक छ।