काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालमा आबद्ध १८ जना सदस्यहरुले बिहीवार सामूहिक रुपमा राजीनामा दिएका छन् ।
संघको आज आयोजित २३ औँ साधारणसभामार्फत उनीहरुले संघको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
काठमाडौँको अनामनगरस्थित संघको कार्यालयलाई उनीहरुले राजीनामा पत्र बुझाएका छन् । लामो अवधिदेखि संघमा आबद्ध रहेपनि संघको २३ औँ साधारणसभाबाट अध्यक्षमा विजयी भएका समीर बलामीको नेतृत्वमा साधारण सदस्य समेत रहन असमर्थ रहेको स्पष्ट पार्दै राजीनामा दिइएको उनीहरुद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
राजीनामा पत्रमा भनिएको छ, ‘यसै संस्थाकी साधारण सदस्यविरुद्ध यौन दुर्व्यवहारको मुद्दामा संघ आफैंले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व हामीलाई स्वीकार्य छैन । हामीले निज नवौं महाधिवेशनबाट अध्यक्षको उम्मेदवार भइरहँदा समेत बन्दसत्रमा विरोध गरेका थियौं । र, निजबाट दुर्व्यवहारमा परेकी सदस्यले दाबीविरोध समेत गरेकी थिइन्।’
राजीनामा दिएकाहरुले विरोध गर्दा गर्दै पनि बलामीको उम्मेदवारी कायम राखी विजयी समेत भएपछि संघमा रहन असुरक्षित महसुस गर्दै संघ परित्याग गरिएको उल्लेख छ ।
यौन दुर्व्यवहारको आक्षेप लागेका बलामीको मुद्दा किनारा नलागेको अवस्थामा उनकै नेतृत्वमा संघमा रहिरहन असहज महसुस भएको र नैतिक रुपमा समेत सकस भएकाले राजीनामा दिन बाध्य भएको पत्रकार अनिल यादवले केटिएम दैनिकलाई बताए ।
राजीनामा दिनेहरुमा पुष्पा थपलिया, संगीता गिरी, सुशील पौडेल, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रिना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवि सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, वैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल(टीकाराम) र संगीता श्रेष्ठ छन् ।
हस्ताक्षर गर्नेमध्येका एक पत्रकारले राजीनामा दिने पत्रकारहरूको सङ्ख्या अझै बढ्ने बताए । उनले भने, ‘यस विषयमा पत्रकार महासंघमा छलफल हुनेछ । यसले संस्थाको वैधानिकतामाथि पनि प्रश्नचिह्न खडा गरेको छ ।’
नैतिक प्रश्नचिह्न खडा भएकाले अन्य एशोसिएट संस्थाहरूबीच पनि यस विषयमा छलफल गरिने बुझिएको छ ।