विराटनगर । मोरङको बेलबारीमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका-१ मा बिहान ६ः३० बजेतिर बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एकजना घाइते भएका छन्। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी-२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारका क्रममा मृत्यु भएको हो ।
बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी-२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। उनको उपचार भइरहेको छ। बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका-२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।