काठमाडौँ । श्रमजीवी-पत्रकार संघ, नेपालले सञ्चार मन्त्री रेखा शर्मालाई नौ बुँदे अधिकार पत्र बुझाएको छ ।
आमसञ्चार नीति, पेशा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका माग राख्दै संघका अध्यक्ष जन्मदेव जैसी लगायतको समूहले मन्त्री शर्मालाई सोमबार नौ बुँदे अधिकार पत्र बुजाएको हो ।
अधिकार पत्रमा श्रमजीवीहरूको पारिश्रमिक प्रत्येक २/२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएयता ३ वर्ष बितिसक्दा पनि पारिश्रमिक वृद्धि नगरिएको उल्लेख गरिएको छ ।
साथै ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेशा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका विषय सम्बोधनका लागि मन्त्री शर्मालाई पत्र बुझाएको अध्यक्ष जैसीले बताए ।
श्रमजीवीको पेशागत, भौतिक, सामाजिक एवं अर्थ रक्षाका लागि एक स्वायत्त नियमन निकायको रूपमा ‘पारिश्रमिक निर्धारण तथा नियमन आयोग’ को गठन र प्रस्तावित आयोगको फराकिलो क्षेत्राधिकार निर्धारणसहितको कार्यविधि निर्माण गर्न माग गरिएको उनले बताए ।
कथित ठुला मिडियाको विज्ञापनमाथिको एकाधिकार तोड्न स्थानीय निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउने ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै सञ्चार मन्त्री शर्माले संघसँग छलफल गरेर अघि बढ्ने बताएकी छन् । उनले ऐनमा आवश्यक सुझाव दिन पनि आग्रह गरेकी छन् ।
श्रमजीवी-पत्रकार संघ, नेपालको तर्फबाट बुझाएको नौ बुँदे अधिकार पत्र