एजेन्सी । पाकिस्तानी तालिबान समूहले प्रहरीलाई थप आक्रमण गर्ने चेतावनी दिएको छ ।
पाकिस्तानको कराचीस्थित प्रहरी मुख्यालयमा आत्मघाती आक्रमण गरेलगत्तै तालिबानले अझै आक्रमण गर्ने चेतावनी दिएको हो । तालिबान समूहले शुक्रबार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको थियो । तेहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै जारी गर्दै थप आक्रमण गर्ने चेतावनी दिएको हो ।
समाचार संस्था एएफपीका अनुसार टीटीपीले विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न नरोके अझ गम्भीर आक्रमण गर्ने उल्लेख गरेको छ । सन् २०१४ को अन्त्यमा सुरु गरिएको सैन्य अभियानबाट टीटीपीका गतिविधिलाई दबाउने प्रयास थालिएको थियो ।
तर, सन् २०२१ को अगष्टमा अफगानिस्तानमा तालिबानले काबुल कब्जा गरेपछि र टीटीपी र इस्लामावादबीच गएको वर्ष नोभेम्बरमा महिनौँ लामो युद्धविराम अन्त्य भएपछि सुरक्षा बललाई लक्षित गरी आक्रमणहरू फेरि बढ्न थालेका छन्।