इस्तानावुल । भूकम्प गएको पाँच दिनपछि एउटा सिंगो परिवारलाई जीवित उद्धार गरिएको छ ।
टर्कीको हंटे प्रान्तको भग्नावशेषबाट ६ जनाको परिवारलाई पाँच दिनपछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको टर्कीका सञ्चारमाध्यमहरुले जनाएका छन् । उता, भूकम्प गएको चार दिनपछि चामत्कारिक रुपमा १० दिनको बच्चासहित उनकी आमालाई जीवित उद्धार गरिएको छ ।
यागिज उल्स नाम गरेका १० दिनका बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनवाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै-विस्तारै भग्नावशेषबाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै थर्मल कम्बलमा बेरेका थिए भने आफैँसँग रहेका स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए ।
चार दिनपछि जीवित फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन् । उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा उपचार भइरहेको छ । टर्की र सिरियामा गएको ७.८ रेक्टरकाे भूकम्पमा परी अहिलेसम्म १८ हजार भन्दा बढीको ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठनले भूकम्पमा ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी हुनसक्ने भएकाले विश्वभरीबाट आपतकालिन उद्धार र राहतका लागि अनुरोध गरेको छ ।