
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १९ जना व्यक्तिहरू पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका-४ सितापाईला डेरा गरी बस्ने ४४ वर्षीय दिल कुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतम सिंह महर्जन समेत १९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख १२ हजार २ सय १५ रुपैयाँ, ३३ थान कौडा र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।

उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबना ।