भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदाहुँदै पनि नेकपा एमाले प्रत्यक्षमा दोस्रो स्थान र जनताको लोकप्रिय मतमा पहिलो हुने अवसर पायो ।
विशाल कम्युनिष्ट पार्टी हुँदा तत्कालीन नेकपाका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रै माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई ललाई फकाई गरेर ओलीविरुद्ध निकै विष बमन गरे । त्यही कुराको सुइँको पाएर कि पार्टी बचाउनु पर्ने कि सरकार छोड्नु पर्ने भएकाले केपी ओलीले जनताको गाली खाउँला भनेर संसद् विघटन गर्नमा पुगे ।
माधव कुमार नेपाल र झलनाथ खनालले राम्रो नेतृत्व गर्न नसकेकै कारण नेकपा एमाले कहिल्यै माथि उठ्न सकेको थिएन । तर नेकपा एमाले केपी ओलीको नेतृत्वमा आउने बित्तिकै उनले संगठनात्मक र रचनात्मक क्रियाकलापले पार्टीलाई सही दिशामा लगे ।
२०७४ सालको प्रतिनिधि सभाको चुनाव पछि केपी ओली र पुष्पकमल दाहालबिच सरकार आलोपालोको सम्झौता भएको रहेछ । केपी ओलीको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने र प्रत्यारोपण सफल हुने नहुने, उनी बाँच्ने कम सम्भावना देखेकाले माधव कुमार नेपाल पनि चुप लागेर बसे किनकि केपी ओली नबाँचेका भए र नेकपा नै रहेको भए पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने र आफू भने ठुलो कम्युनिष्ट पार्टीको अध्यक्ष भएर रजगज गर्ने उनको चाहनालाई केपी ओलीको सफल मिर्गौला प्रत्यारोपणसँगै तुषारपात भयो ।
सफल प्रत्यारोपणसँगै केपी ओलीले आफू ५ वर्ष नै सरकार चलाउने र नेकपाको प्रथम महाधिवेशनमा पुष्पकमल दाहाललाई पार्टी अध्यक्ष भएर नेतृत्व गर्न भनेका थिए तर माधव कुमार नेपालको सपनामा घात भएसँगै उनी पुष्पकमल दाहालसँग मिलेर, उनलाई भड्काएर नेकपामा द्वन्द्व ल्याउन अग्रसर भए । त्यसकै प्रतिबिम्ब स्वरूप कि पार्टी कि सरकार भनेर केपी ओलीले संसद् विघटन गरी चुनावमा जाने निर्णय गरे ।
केपी ओली र उनको नेतृत्वको नेकपा एमाले नै सिध्याउँछु भनेर लागेका माधव कुमार नेपाललाई पुनः पार्टी एकता या कुनै नाममा नेकपा एमालेभित्र ल्याउने चर्चा किन गरिँदै छ । कम्तीमा पार्टीले सही बाटो हिँडिरहेका बेलामा पार्टीभित्र ट्रोजन हर्स भाइरस छिराएर पार्टीलाई मालफंक्सनिङ गराउन लागेको त होइन ?
जनताले कम्युनिष्ट पार्टीलाई म्यान्डेट दिएको तर पार्टीभित्र घेराबन्दीमा परेकाले अदालतले विघटनविरुद्ध फैसला गर्न सक्छ भन्ने थाहा पाउँदा पाउँदै पनि त्यो म्यान्डेटले काम नगरेको भनी जुवा खेले, जुवा खेल्दा कि उक्सिन्छ कि सकिन्छ ।
त्यही विघटनलाई हतियार बनाएर “हामी यहाँ छौँ” भनेर पुष्पकमल दाहाल र माधव कुमार नेपाल माइतीघरको दुबो माड्न पुगे । जब कम्युनिष्ट पार्टीमा भागबन्डा मिल्दैन तब भित्रभित्रै छक्का पन्जा हुने त निश्चित नै हो तर किस्तीमा प्रधानमन्त्री पद नै काँग्रेसलाई दिलाएर शेर बहादुर देउवालाई दुई जनाले गुण भने अवश्य लाएको हो ।
प्रतिगामी, बिस्तारवादी, हिट्लरजस्ता अनेकौँ उपमा त केपी ओलीले यिनै महान् दुई नेताबाट पाएकै हुन् । नेकपा एमालेलाई सिद्ध्याउन मरी मेटेर लागेको दृश्य स्थानीय चुनावदेखि प्रतिनिधि सभा, प्रदेश सभाको चुनावमा नदेखेको भने अवश्य होइन ।
तर स्थानीय चुनावमा जाँदा नेकपा एमालेलाई जनताले नरुचाएको भने देखिएन । बरु नेकपा माओवादी केही हदसम्म खुम्चियो । मङ्सिर ४ को चुनावपछि पनि नेकपा एमाले सग्लै रहन नसके पनि अग्लो नै देखियो किनकि त्यहाँ सरकारमा रहेका ५ दलीय गठबन्धन भर्सेस केही स्थानमा तालमेल गरेको नेकपा एमालेबिच प्रतिस्पर्धा जो थियो ।
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई रति भर पनि विश्वास थिएन कि गठबन्धन २० वर्ष टिकाउने भनेर भाषण गर्ने प्रचण्डले नै गठबन्धन तोड्छन् भनेर । हिजो नेकपा हुँदा आधा आधा कार्यकाल भनेर सहमतिपश्चात् केपी ओलीले सरकार नछोड्दा माधव कुमार नेपालको पछि लागेर हिँडेका पुष्पकमल दाहाललाई नचिनेको हो कि २०७४ सालको स्थानीय चुनावमा काँग्रेसलाई धोका दिएको बुझ पचाएर हो, पहिलो पार्टी हुँदा हुँदै पनि केन्द्रीय सरकारबाट मात्रै विमुख भएनन्, प्रदेश सरकारबाट पनि हात नै धुनु पर्यो ।
हिजो “नाटकै हो” बदलामा “नौटङ्की नै हो” भनेर दोहोरी खेल्ने केपी ओली र पुष्पकमल दाहाललाई भने एक गराउन शेर बहादुर देउवाले निकै महत्त्वपूर्ण भूमिका भने अवश्य नै खेलेका हुन् । २०% दल विभाजन अध्यादेश ल्याएर एमाले फुटाउन त सफल भएका थिए तर सत्ताको पिपासु रहेका देउवाले सत्ता नछोड्दा ठुलो दल बनेर पनि दुइटा कम्युनिष्ट पार्टीलाई सत्ता हस्तान्तरण गर्न भने उदार रहे ।
नेपालमा कम्युनिष्ट पार्टीहरूले छिनछिनमै रङ फेरेको देख्दा छेपारो हुन् कि भन्ने पनि लाग्छ । अघिल्लो दिनसम्म एक अर्कालाई सत्तोसरापमा उत्रेका टाउकेहरू नै मिलेर देशको राजनीति १८० डिग्रीमा घुमाउँछन् भन्ने कसले नै सोचेको थियो र ? खास नेपालको कम्युनिष्ट पार्टीमा “कम्युनिष्ट” शब्द भन्दाबाहेक अरू मिल्ने के छ ? सायद कम्युनिष्ट पार्टीमा मिल्ने अर्को तत्त्व भनेको बाम एकताको नाममा हाम एकता हुनुपर्छ ।
सरकार गठनका लागि शेर बहादुर देउवाले आफ्नो बाचा तोडे र पुष्पकमल दाहाल जसरी पनि प्रधानमन्त्री हुनुपर्ने भएकाले नेकपा एमालेसँग गएर सहकार्य गरे त्यहाँ सम्म पनि ठिक छ । किनकि पहिले पार्टी एकीकरण हुनुअघिपनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र नै थियो र केपी ओलीको नेतृत्वको नेकपा एमाले नै थियो ।
तर केपी ओली र उनको नेतृत्वको नेकपा एमाले नै सिध्याउँछु भनेर लागेका माधव कुमार नेपाललाई पुनः पार्टी एकता या कुनै नाममा नेकपा एमालेभित्र ल्याउने चर्चा किन गरिँदै छ । कम्तीमा पार्टीले सही बाटो हिँडिरहेका बेलामा पार्टीभित्र ट्रोजन हर्स भाइरस छिराएर पार्टीलाई मालफंक्सनिङ गराउन लागेको त होइन ?
पार्टी फुटेर दुनियाँले गवार लुट्दा पनि कार्यकर्ताहरू एक ढिक्का भई पार्टीलाई सतिशालझैँ उभ्याउन सफल भएका कार्यकर्ताको मनमा ढुङ्गा बिसाउने कि पार्टी फुटाउनेलाई तिमी आफ्नो राजनीति आफैँ सम्हाल भनेर बफादार कार्यकर्तालाई पार्टीको दृढ शक्ति दिलाउने भन्ने नेतृत्वले बुझेन भने अवश्य अहिले अंकगणितमा एमाले एसलाई र १-२ स्वतन्त्र घुसाएर पहिलो पार्टी त बन्ला तर ती तमाम कार्यकर्ताले भने पार्टी बहिष्कार अवश्य गर्नेछन् ।
नेकपा एमाले पार्टी हो प्राइभेट कम्पनी होइन भन्ने कुरामा नेतृत्वले बेलैमा मनन गर्न जरुरी छ । कसैको निहित स्वार्थका लागि कार्यकर्ताको बलिदानी दिन यदि नेतृत्व तयार छ भने जे गर्दा पनि हुन्छ ।
अहिले एकनाथ ढकाल भित्र्याएको छ, टिकट नदिएकै झोँकमा हिँडेका घनश्याम भुसाललाई कारबाही गरेको फिर्ता लिँदै सम्मानजनक पद दिए पनि हुन्छ नत्र नेकपा एमालेलाई कुनै माधव कुमार नेपालको घुर्की लाउने भाँडो नबनाए हुन्छ ।
नेकपा एमालेको वरिष्ठ नेता त्यागेर पार्टी फुटाउने माधव कुमार नेपाल अहिले सम्मानजनक पद नदिए सरकारमा नआउने रे । सम्मानजनक पद भनेको राष्ट्रपति, जसको पार्टीलाई जनताले त नपत्याएर थ्रेसहोल्ड कटाउन सकेन, सम्मानजनक पद चाहिएको छ । हिजो हाम गर्ने विषयमा कुरा नमिल्दा विष बमन गर्नेले भोलि राष्ट्रपति भएपछि स्वार्थ नमिल्दा राष्ट्रपति पदको कति अपमान गर्न सक्छन् भन्ने कुरालाई पनि बिर्सिन हुन्न ।
जे होस्, राम्रो होमवर्क गरेर नेकपा एमाले र माओवादी केन्द्रको एकता होस्, हतार गर्नुपर्ने कारण छैन । तर विगत कोझैँ ३ वर्षमै विफल हुने गरी एकता प्रक्रियामा नलागोस् । पहिलो २.५ वर्षको कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल, दोस्रो २.५ वर्षको कार्यकाल प्रधानमन्त्री केपी शर्मा ओली भन्ने सहमति राम्रोसँग निभाएर पार्टी एकता गरी दुवै जना सक्रिय राजनीतिबाट बिदा लिएर दोस्रो पुस्ताका लागि नेतृत्व हस्तान्तरण गरे कम्युनिष्ट आन्दोलनले निकै सार्थकता पाउनेछ । नत्र उही नेपालको कम्युनिष्ट मेलमिलाप छक्का पन्जा ।
यो लेखकको नीजि विचार हो ।