हालसालै सकिएको चुनाव को नतिजा आइसकेको छ । अहिले दलहरूले दलको नेता छानेर देश को प्रधानमन्त्री बनाउने तिर देश उन्मुख छ देश । मुलत यो निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो निर्वाचन हो । निर्वाचनलाई लोकतन्त्र को मेरुदण्ड नै मान्ने गरिन्छ । यस कारण हामीले लोकतन्त्र को बहस गर्दै गर्दा केही प्रश्न स्वाभाविक रूपले जन्मेका छन् कि आजको लोकतन्त्र कसको लोकतन्त्र ? कस्तो लोकतन्त्र ?
प्रमुख पार्टीहरूको समानुपातिकमा आफ्ना लाई सिफारिस गर्ने, अस्वस्थ राजनीतिक अवसरवादी गठबन्धन गर्ने, लोकतान्त्रिक प्रतिस्पर्धा भन्दा व्यक्तिगत स्वार्थ केन्द्रित तालमेल गर्ने, अनि आफूभन्दा परका लाई टिकट नदिने जस्ता राजनीतिक संस्कार पनि देखियो । यसले निकै ठुलो प्रश्नहरू जन्मायो । यो कस्तो लोकतन्त्र ? यो कस्तो प्रणाली ? यी निर्मम प्रश्नहरू को जवाफ जनताले अवश्य खोज्नेछन् । प्रजातन्त्र पुन स्थापना नहुन्जेल आफूलाई प्रजातान्त्रिक समाजवादी भनेर चिनाउँथ्यो आफूलाई कांग्रेस । यद्यपि उसको चरित्र र व्यवहार हेर्दा मुलत उ मध्यपन्थी सुधारवादी (सेन्ट्रिस्ट रिफर्मिस्ट) दल थियो ।
जब ०४८ को आम निर्वाचन मार्फतको सरकारको नेतृत्वमा कांग्रेस पुग्यो तब कांग्रेसमा नवउदारवाद प्राविधिक राजनीतिज्ञहरू (नियोलिव्रल टेक्नोक्र्याट) हाबी हुन पुगे । जसले राजनीतिक रूपमा घोषणा नगरीकनै मुलुक र कांग्रेस दुवै लाई नव उदारवाद को अँध्यारो सुरुङ भित्र प्रवेश गराए । जसका कारणले मुलुकको आर्थिक सामाजिक नीतिलाई क्रमशः नव उदारवादी बजार पुजिवादमा समाहित गर्दै परनिर्भर बनाए । यी सबै कुराको जनताले समीक्षा गरेका होलान्,एक दिन जनताले जवाफ दिनेछन् । कांग्रेसभित्रका केही नेतृत्वले यी कुरा माथि फरक मत राख्दा राजनीतिबाट सदाका लागी पाखा लाग्नु पर्यो । यो निर्मम कारबाही पछि कांग्रेसभित्र भिन्न मत सकियो अथवा आन्तरिक लोकतन्त्र सकियो । मुलुक र जनता भन्दा सामूहिक स्वार्थमाथि व्यक्तिवाद हाबी हुँदा दलहरूमा ठुला साना जादुगर नेतृत्व हाबी हुदैँ जानु स्वाभाविक थियो ।
पाँचौँ महाधिवेशन पछि तत्कालीन महासचिव मदन भण्डारी ले उदारवादको मतियार हुँदै एक उदारवादी पार्टी एमाले स्थापित गर्न चाहन्थे । उनको छोटै समयमा देहावसान पछि महासचिव बन्न पुगेका माधव नेपालले मदन अनुसार को उदारवादीकरण गर्न सकेनन् । किनकि उनी प्राविधिक थिए । माधवको कार्यकालमा दर्शन,सिद्धान्त र समाज रूपान्तरण का लागि नयाँ कार्यक्रम निर्माण गर्नु पर्छ भन्ने चेत पलायन । उनी मुलत व्यक्तिवादी बाटोबाट अगाडी बढ्न खोजे र त्यही बाटो रोजे । पार्टी भित्रगुट बनाउँदै आफ्नो स्वार्थ पुरा गरे । उनले खडा गरेको गुटका एक सदस्य थिए केपी शर्मा ओली । तुलनात्मक रूपमा चतुर ओली माधवकै गुटमा बसेर उनकै उपाय रचेर आफ्नो अलग्गै गुट खडा गरे । माधवलाई परास्त गरेर अध्यक्ष भए । तथापि उनले खडा गरेको गुट पनि विचारधारात्मक रूपमा शून्य नै थियो । यसरी बिस्तारै एमाले भित्र टेक्नोक्र्याटहरू को झुन्ड तयार भयो । कालान्तरमा आफ्नो अस्तित्व रक्षा गर्न नव उदारवादी बजार माथि निर्भर भयो ।
जनयुद्धको माध्यम बाट सर्वहारा को मुक्ति गर्दै समाजवादी प्रणाली स्थापित गर्ने भन्ने माओवादी पार्टी यति छिट्टै नव उदारवादी व्यक्तिवादी संस्कार र संस्कृति को दलदल मा भास्सीयला भन्ने अनुमान बाहिरको कुरा थियो । माओवादी ले छोटै समयमा जे जति उपलब्धि हासिल गर्यो त्यो नेतृत्वले टिकाउन सकेन । यथार्थमा माओवादी समग्रताको(राजनीति,समाज,आर्थिक,सांस्कृतिक,भाषिक रूपान्तरण) को आन्दोलन बन्न पुगेको थियो तर त्यो सबै नेतृत्वका कारणले विसर्जन भयो । जसरी एमाले विचार धारात्मक र व्यावहारिक आचरण का रूपमा मार्क्सवादी लेनिनवादी पार्टी रहेन त्यसैगरी माओवाद माओवाद पार्टिकल रहेन ।
जादुमयी रूपमा उदाइरहेको पूर्व संञ्चारकर्मि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आजको मूल समस्यासँग लड्ने कुनै हतियार बोकेको देखिँदैन । मुलत यसले सामाजिक सञ्जालमा चर्का भाषण गरेर सामाजिक सञ्जाल रङ्गिन गर्ने बाहेक अरू केही ठुलो उपलब्धि गर्न नसक्ने देखिन्छ । यस कारण यो दल पनि मुलत नव उदारवादी बजारवाद कै एक अङ्ग हो भन्न सकिन्छ ।
यस कारण नेपालमा मुलत नवउदारवाद र उदार मध्य पन्थले समाज,राजनीति,अर्थतन्त्र र संस्कृतिलाई विकृत बनाएको छ । दलाल बनाएको छ । कांग्रेस,एमाले,माओवादी तथा अरू सबै साना दलहरू राजनीतिक विचार,संस्कार, र चरित्र सबै हिसाबले राजनीतिक दल भन्न नसुहाउने ठाउँमा पुगेका छन् । प्रगतिका प्रस्ट देखाउँदै समाजवादको खाका कोरेर जनताले नयाँ राजनीतिको करिडोर निर्माण गर्न सक्छन् । मुलत आजको मुख्य लडाइ नै नवउदारवाद र उदारमध्य पन्थ सँग नै हो । यसैले नव उदारवाद र उदारमध्य पन्थ लाई बिदा गरेर नयाँ राजनीतिको गोरेटो खनेर नयाँ ठाउँमा पुग्न जनता ले एउटा विकल्पको बहस गर्न जरुरी छ ।
नोट: यो लेखको नीजि विचार हो ।