विश्वव्यापी रूपमा मनाइरहेको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको आज तेस्रो दिन हो । आज काठमाडौंको माइतीघरमा आभा फर कृयटिभिटी नामक संस्थाका कलाकारहरुले ‘सडक नाटक’ प्रस्तुत गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान मनाइन्छ ।
यस अभियानलाई नेपालमा पनि ‘सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरूद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सञ्चालन भइरहेको छ ।
हाम्रो समाजमा विद्यमान सामाजिक–सांस्कृतिक पछौटेपनका कारण बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी प्रथाका साथै यौन दुर्व्यवहार‚ घरेलु हिंसा‚ महिला बेचबिखन र बलात्कार र हत्या जस्ता जघन्य हिंसा आजको युगमा समेत कायम रहिरहेको छ ।
आज माइतीघरमा महिला माथी हुने हरेक हिंसाको विरुद्ध प्रदर्शन गरिएको सडकानाटकमा राजु झल्लु प्रसाद, प्रभात तिमिल्सिना, पुर्णिमा गिरी, सुष्मा तिमिल्सिना मनिषा श्रेष्ठ र सुरज पराजुलीले आफ्नो अभिनय प्रस्तुत गरेका थिए ।
तस्बिरहरू