सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसबाट बाँके क्षेत्र नं. ३ प्रदेशसभा (ख) का उम्मेदवार बादशाह कुर्मीको उम्मेदवारी खारेजीको माग गर्दै जिल्ला निर्वाचन कार्यालय बाँकेमा उजुरी परेको छ ।
बहुचर्चित निर्मला कुर्मी अपहरण तथा हत्याकाण्डको मुख्य अभियुक्त भन्दै महिला अधिकार मञ्च,बाँकेले आज कुर्मीको उम्मेदवारी खारेज गर्न निवेदन दिएको महिला अधिकारकर्मी रुवी खानले केटिएम दैनिकलाई बताइन् ।
गम्भीर खाले महिला हिंसा र अपराधमा संलग्न व्याक्ति चुनाव लड्न लागेको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको खानले बताइन् । ‘यति गम्भीर अपराधको आरोप छ । सीआईबीले अनुसन्धान गरिरहेको छ । तैपनि खुलेआम चुनावमा उठ्नु राष्ट्रिय लज्जाको विषय हो,’ अधिकारकर्मी रुबी खानले केटिएम दैनिकसँग भनिन्, ‘गृह मन्त्रालयको छानबिन समितिले मुख्य दोषी भनेको व्यक्ति कसरी योग्य हुन्छ ? उम्मेदवारी खारेज हुनुपर्छ ।’
नेपालगञ्ज उपमहानगर–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान कसुर मुद्दामा कांग्रेस नेता कुर्मीसहित आठजनाविरुद्ध २० चैत २०७७ मा बाँके प्रहरीमा जाहेरी दर्ता भई जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।
महिलाको संवेदनशिल मुद्दामा सम्बन्धित निकायको लापरवाही र मिलेमतोले मुद्दालाई न्यायालयसम्म नपुर्याउने चलखेल देखिएको भन्दै महिला अधिकार मञ्चले १९ दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । त्यसपछि पनि सुनुवाइ नभएपछि १ असोज २०७८ देखि २० दिन पैदल हिँडेर काठमाडौं आएर धर्ना दिएको थियो ।
२ कात्तिक २०७८ मा गृह मन्त्रालयले ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । १४ कात्तिकमा सो समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाए पनि कार्यान्वयन भएन । सो समितिले कांग्रेस नेता कुर्मीलाई मुख्य अभियुक्त भन्दै कारबाहीका लागि सिफारिस गरेकोमा कुनै कारबाही नगरी दण्डहिनतालाई प्रश्रय दिइएको भन्दै महिला अधिकारकर्मीले विरोध जनाएका हुन् ।
९ मंसिरदेखि २० पुससम्म काठमाडौं माइतीघर मण्डलामा भएको दोस्रो चरणको आन्दोलनपछि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानको जिम्मेवारी दिएको थियो । त्यसले अनुसन्धान नटुंग्याउँदै कुर्मी चुनाव लड्न लागेको भन्दै उम्मेदवारी खारेजको माग गरिएको हो ।
सरकारले गठन गरेको छानबिन समितीले समेत बादशाह कुर्मीलाई बिधवा महिला निर्मला कुर्मीको मुद्दामा दोषी ठहर गरेको हुंदा तथा निर्मला कुर्मीको मुद्दाको हाल सम्म न्यायिक निकास नभएकोले मुद्दामा मुख्य अभियुक्त रहेका बादशाह कुर्मी बाँके क्षेत्र नं.३(ख) बाट प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार रहेको हुंदा कार्यबाही गरि नामांकन खारेज गरि दिनु माग गर्दै उजुरी परेको हो ।
यस्तो छ उजुरी