मकवानपुर क्षेत्र नम्बर–१ का एमालेका तर्फबाट उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देश बनाउन र बचाउन केपी ओलीको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् ।
नेकपा एमाले हेटौँडा–४ वडा कमिटीले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मङ्सिर ४ गतेको चुनाव पछि ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताए । गठबन्धनका कारण अहिले मुलुक सङ्कटमा परेको उनको दाबी छ ।
त्यस्तै नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठबन्धन सरकारका कारण मुलुकमा आर्थिक सङ्कटमा परेको बताए ।
हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनले मुलुकलाई तहसनहस बनाएको जिकिर गरे । उनले अब हेटौँडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने बताए । हेटौँडाको बाइपास सडक निर्माण पनि गर्दै मूल सडक पनि फराकिलो बनाउनु पर्नेमा श्रेष्ठले जोड दिए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू रामेश्वर राना, भारती पाठक लगायतका नेताहरू उपस्थित थिए ।