काठमाडौंको गौरीघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गौरीघाट पुगेर अघ्र्य दिएकी थिइन् ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ ।
छठीमाताको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ । यस पर्वमा पूजा गर्नाले रोग निको हुने जनविश्वास रहँदै आएको छ । छठ पर्वको दिन दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गर्ने र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने गर्दछन् ।
छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् । अन्य भने साँझमा अघ्र्य चढाउने र बिहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यो पर्ब मनाउने गर्दछन् । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अघ्र्य चढाउँदा स्वास्थ्य राम्रो हुने जनविश्वास छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।
छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।
सूर्य उपासनासँग सम्बन्धित तराईमा मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । काठमाडौंको कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र बिहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।
तस्बिरहरू