राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँस्थित गौरीघाटमा निर्माण गरिएको छठ घाटको अवलोकन गर्दै छठीमाईको मन्दिरमा बत्ती बाली छठ पुजाको उद्घाटन गरेकी छन् ।
त्यसैगरी छठका लागि सिँगारिएको काठमाडौँको गुहेश्वरी-गौरीघाट र कमलपोखरी क्षेत्रमा दर्शन तथा अवलोकनका लागि राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् । कमलपोखरी छठ पूजा समितिको निम्तोमा उनी पूजाका लागि त्यहाँ पुगेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।
गुह्येश्वरीमा यस वर्ष विगतमा भन्दा बढी छठ घाटको निर्माण गरिएको छ । विगतमा करिब पाँच सय छठ घाट निर्माण गरिएकामा यस वर्ष छ सयभन्दा बढी बनाइएको छ । एउटा छठ घाट रु एक हजार पाँच सय शुल्क लिएर भक्तजनलाई दिइएको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताए ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।
छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।
सूर्य उपासनासँग सम्बन्धित तराईमा मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । काठमाडौंको कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र बिहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।