तराई मधेशवासीले लोक आस्थाको रुपमा मनाइने छठ पर्व मनाउनका लागि काठमाडौंको विभिन्न ताल तलाउ सिँगारिएका छन् । काठमाडौँ उपत्यकाको गौरीघाट, गुहेश्वरी, गहना पोखरी, कमलपोखरी लगायतका प्रमुख स्थानमा समेत भव्यताका साथ मनाउने गरिन्छ ।
छठको रौनक बढेसँगै आज काठमाडौंको कमलपोखरी मन्दिर आसपास सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छ । पहिले पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक अहिले देशभरी नै पुगेको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवम् अरवा अरवाइन खाने चलन छ भने दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने चलन छ । साथै, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।
देशभका विभिन्न स्थानहरूमा छठको सामान किन्नेको घुइँचो देखिएको छ । विगतभन्दा यस वर्ष बजार भाउ निकै बढेको भक्तजनको गुनासो पनि रहेको छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने यो पर्व मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।
तस्बिरहरू