– खेलकुदले राष्ट्रिय झण्डा बोक्न सिकाउँछ, राजनीतिले पार्टीको झण्डा बोक्न सिकाउँछ । जसले जुन झण्डा बोके पनि आ-आफ्नो विचार र आस्थाको कुरा हो। तर, राष्ट्रिय झण्डाले एकीकृत गराउँछ, पार्टीको झण्डाले फुटाउँछ ।
जब नेपाल फुटबल वा क्रिकेटमा अन्तर्राष्ट्रिय समुदायसँग खेल्छ तब नेपाली राष्ट्रिय झण्डा नबोक्ने नेपाली कमै देखिन्छन् । राष्ट्रिय झण्डा उचालेर नेपाल- नेपाल भन्दै चिच्याउँदा धर्ती गुञ्जायमान बन्छ, शरीरका रौँ ठाडा बन्छन्, मुठ्ठी आफै कसिन्छ, आङै जिरिङ्ग हुन्छ । एउटा अनौठो एकताले सबैलाई जुटाउँछ, एउटै मालामा उनिदिन्छ!
त्यसपछि घन्किन्छ- “सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली।” यसको ठिक उल्टो जब कुनै पार्टीको झण्डा बोकेर आम नागरिक चिच्याउँछ तब षड्यन्त्रहरू मात्र देखिन्छन्। पार्टीको झण्डा बोकेर आफ्नै दाजुभाइहरू शक्ति प्रदर्शन गर्दे भौतिक रूपमा आक्रमणमै उत्रिन बाध्य पार्ने पार्टीगत झण्डा अनौठो छ। यही झण्डाले फुटाउँछ, अर्थात् फुटाउने राजनीति गर्छ।
निर्वाचन सङ्घारमा छ । निर्वाचनमा राष्ट्रिय झण्डा विरलै देखिन्छन् ।जताततै पार्टीका झण्डाहरु हुन्छन् । अपवाद बाहेक ती झण्डाहरुले आक्रोश मात्र ओकल्छन्। ती झण्डाहरु हार्न मान्दैनन् । शान्त रहन पनि जान्दैनन्। तिनीहरू आवेगको भाषा बोल्छन् र भाइचारा टुटाउँछन् । ती झण्डाहरुले बाहुबल प्रदर्शन गर्न उक्साउँछन् । कस्तो झण्डा जसले फुटाउन सहयोग गर्छ ?
– सँगै बसेर चिया गफमा रमाइरहेका फरक-फरक पार्टीका विद्यार्थी नेताहरू जब आ-आफ्नो युनियनको झण्डा बोक्छन् र सडकमा उत्रिन्छन् तब एक आपसमा भिडेर ‘महान् योद्धा’ कहलिन्छन् । जसले बढी इट्टाले हान्न सक्यो, जसले आगोका मुस्लाहरूसँग खेल्न सक्यो त्यसैले जित्छ र ‘कथित नायक’ कहलिन्छ।
चिया गफमा खुलेर रमाइरहेका साथीहरू युनियनको झण्डा बोक्ने बित्तिकै महाभारतको युद्ध लड्न तुरुन्तै तयार बन्छन्। वैचारिक बहसमा वा शैक्षिक मुद्दामा स्वर अलि चर्को हुनु स्वाभाविक हो तर युनियनको झण्डा बोक्ने बित्तिकै महाभारतको युद्ध लड्न तुरुन्तै तयार बन्छन्। कस्तो अनौठो झण्डा जसले फुट्न र भिड्न मात्र सिकाउँछ?
कस्तो झण्डा बोक्छन् युवाहरू जसले कहिल्यै एकीकृत बन्नै दिँदैन ?
– राजनीतिमै सम्पूर्ण जीवन लगाएर सत्तामा पुग्ने आकाङ्क्षा राख्नेहरूले त फुटाउने राजनीति गर्नु स्वाभाविक जस्तो पनि देखिन्छ हामीले अपनाउँदै आएको यो संसदीय व्यवस्थामा। यो व्यवस्थाले सिकाउने यही हो । संसदीय व्यवस्थाले पैसा चिन्छ, पार्टीको झण्डा चिन्छ, झुट्टा आश्वासन दिन्छ र फुटाउँछ मात्रै। यो व्यवस्थाले युवा खोज्छ तर नेतृत्व गर्न दिँदैन । युवाको पाखुरा किन्ने यो संसदीय व्यवस्थाले फुटाउने झण्डा बोकाउँछ र फुटाउने राजनीति गरिरहन्छ । भनिन्छ; घोषणापत्र र प्रेम पत्र अरूलाई फसाउनको लागि मात्र लेखिन्छ । झण्डाले घोषणापत्र लेख्छ, मनले प्रेम पत्र।
सामान्य सामाजिक कामहरूमा समेत पार्टी हेर्ने चलन आयो । यदि आफ्नो पार्टीको छ भने सबै ठिक छ, अर्को पार्टीको छ भने सबै खोट मात्र छ । सामाजिक विषयमा खलल पुर्याउने, भाइचाराको बन्धन तोडाउने कस्तो फुटाउने राजनीति यो ? एक दिन यस्तो अवस्था नआउला भन्न सकिन्न जुन दिन लासमाथि पनि घृणित राजनीति खुलेरै हुने छ !
प्राध्यापकहरूको युनियन ,कर्मचारीहरूको युनियन, शिक्षकहरूको युनियन, वकिलहरूको युनियन, व्यबसायीहरुको युनियन, विद्यार्थीको युनियन । म युनियनको विरोधी हैन तर जे का लागि युनियन खुलेका हुन त्यसको मर्म नेपालको सन्दर्भमा मरिसक्यो ।
विश्वविद्यालयको प्राज्ञिक प्राध्यापकले युनियनको आधारमा निर्णय गर्छ भने कस्तो युनियन बनाए यो देशमा ? कुनै युनियनमा लाग्ने बित्तिकै झण्डाको सोझो गर्नुपर्छ भन्ने मात्र हो र ? विश्वविद्यालयका महत्त्वपूर्ण पदहरू पार्टीको झण्डाको आधारमा भाग लगाइन्छ । यसरी कस्तो विश्वविद्यालय बन्छ होला ? धन्न नेपाली सेना र नेपाल प्रहरीमा युनियनहरू खुलेका छैनन्। नत्र त कस्तो पो बन्थ्यो होला यो देश ?
– अरू त अरू न्यायालय जस्तो पवित्र ठाउँमा समेत झण्डा नबोकी, फुटाउने राजनीति नगरी अगाडी बढ्नै नसकिने अवस्था छ। न्यायाधीशहरू पार्टीको कोटाबाट नियुक्त हुने भएपछि तिनीहरूबाट आउने सबै फैसला स्वतन्त्र र निष्पक्ष रहन्छन् ? अदालतप्रति मेरो उच्च सम्मान छ । मैले अदालतको मानहानि गर्न खोजेको हैन तर योग्यता र दक्षतालाई छोडेर राजनैतिक दलहरूले न्यायधिश सिफारिस गर्ने भएपछि यसको दीर्घकालीन असर नपर्ने भन्ने त हुँदै हुँदैन ।
कुनै वकिल स्वतन्त्र वकिल भएर मात्र बाँच्न सक्दैन, कुनै न कुनै पार्टीको वकिल भएमा मात्र उसलाई अवसर र सम्भावनाका ढोकाहरू मज्जाले खुल्ने रहेछन् !
संसारका अधिकांश देशहरूमा जतिसुकै विकृत राजनीति भए पनि कम्तीमा पनि अदालतमा चाहिँ राजनीति घुसाउँदैनन्। नेपालमा सबैभन्दा बढी राजनीति न्यायिक क्षेत्रमै हुन्छ।न्याय क्षेत्रलाई नै तोडमोड गराउने कस्तो राजनीति यो ? फुटाउने राजनीतिको विकल्पमा नेपालमा वैकल्पिक शक्तिहरू यो बिचमा उठ्न प्रयास गरे तर फुटको राजनीति भन्दा माथि उठेर जुटको राजनीति गर्छौँ भन्नेहरू आफै फुटेर अस्तित्व रक्षाको सङ्घारमा छन्।
धर्मको नाममा राजनीति, क्षेत्र र लिङ्गको नाममा राजनीति, वर्ण र भूगोलको नाममा राजनीति ! यो भन्दा बढी विडम्बनापूर्ण के नै हुन सक्ला र ? हाम्रो अन्तर्राष्ट्रिय कूटनैतिक सम्बन्ध डामाडोल छ । व्यापार घाटा बढ्दो छ । कल-कारखानाहरूमा ट्रेड युनियनहरूले पाइला चल्न दिँदैनन् । बैङ्कमा पैसा छैन ! सबै नाङ्गो नाच नाचिरहेका छन्। गुण्डागर्दी भित्री रूपमा चलिरहेको छ।
देश कता जाँदै छ कसैलाई पत्तो छैन । यो अवस्था कसरी आयो ? यो फुटाउने र अधोगति तिर लग्ने राजनीति के को लागि ? यो फुटाउने राजनीति कसैको हातमा सत्ता पुर्याउनको लागि मात्रै हैन र?
युवाहरूले कसरी हस्तक्षेप गर्ने?
पार्टीभन्दा माथि कहिले उठ्ने ? विकृत राजनीतिको मुहान कसरी सफा गर्ने ? प्रश्न निकै सजिला छन् तर उत्तर विरलै सँग मात्र होला। अन्त्यमा, नेपाली हामी रहौला कहाँ, नेपालै नरहे !
चौलागाई कानुनका विद्यार्थी हुन् । यो उनको नीजि बिचार हो ।