फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी आजदेखि सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ सुरु भएको मेला आजदेखि चार दिन अर्थात् कात्तिक ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सिताराम पन्तले बताए ।
फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा कुल ५६ वटा स्टलहरू रहेका छन् । जस मध्य व्यावसायिक प्रदर्शनीका ५१ वटा, अफिसियल ३ वटा र प्रतिस्पर्धात्मक स्टल २ वटा रहेको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।
प्रदर्शनीको उद्घाटन आज एक कार्यक्रम बिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गरे ।उद्घाटन कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि उपस्थिति रहेको थियो ।
प्रतिस्पर्धात्मक स्टलबाट प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः आठ हजार, छ हजार र चार हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् ।
पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् ।
पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति मेला उपयोगी हुने बताइएको छ ।
हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरू खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए ।
नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, सहरीकरणको विकास तथा बिस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ । हाल ४८ जिल्लामा लगभग १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् । ७३२ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ६.५ अरब भन्दा बढीको लगानी रहेको छ ।
नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर भएको तामाङले बताए । उनका अनुसार विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ का कारणले फुल उत्पादन घटेको थियो । तर अहिले १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ ।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार/आश्रित रहेकोमा कोभिड–१९ कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई हाल ३९ हजार १०० को हाराहारीमा रोजगार रहेको एसोसिएशनको तथ्याङ्क छ ।
थप तस्बिरहरू